असार १८ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷ ८३ का लागी ल्याएको बजेट सर्वसहमतीले पारित भएको छ । असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा पेश गरेको ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बजेट सर्वसहमतीले पारित भएको हो । बजेट माथी तीन दिन सम्म चलेको छलफलका क्रममा प्रतिपक्ष भन्दा सतापक्षकै प्रदेश सभा सदस्य आक्रामक देखिएका भए पनि बुधबार बजेट पारितका लागी आर्थिक मामिलामन्त्री विर बहादुर थापाले राखेको प्रस्ताव सर्व सहमतीले पारित भएको हो ।
बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिए पछि बजेटसँग सम्बन्धी विद्येयक सर्वसहमतीले पारित गरिएको छ । यसअघि दुई दिनसम्म चलेको बजेटमाथीको छलफलमा प्रतिपक्ष र सत्ता पक्षका अधिकांश प्रदेश सभा सदस्यले असन्तुष्टि जनाएका थिए । उनीहरुले बजेटमा बिचौलिया हावी भएको आरोप लगाएका थिए । सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले बजेट माथीको छलफलमा भाग लिएका थिए ।
बजेटको छलफलमा भाग लिएका अधिकाश प्रदेश सभा सदस्यले विचौलिया मार्फत योजना खरिद बिक्री गरेको आरोप लगाउँदै छानविन गर्न संसदीय समिति बनाउन माग गरेका थिए । बुधबार छलफल सकिए पछि बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विद्येयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । थापाले पेश गरेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निणायर्थ प्रदेश सभा बठकमा पेश गरेका थिए ।
ध्वनी मत विभाजन गर्दै विधेयक निणायर्थ पेश गरेका सभामुख भण्डारीले राजश्व व्ययको अनुमान बजेट र सोसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसहमतीले पारित भएको घोषणा गरेका छन् । प्रस्तावको विपक्षमा आवाज नसुनिएको बताउँदै उनले विधेयक सर्वसहमतीले पारित भएको बताएका छन् ।


