फागुन १९ धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रलाई सिगार्ने काम भई रहेको छ । पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रलाई सिगार्ने काम भई रहेकोे हो ।
पर्यटन विकास गर्ने उद्देश्यले ताल क्षेत्रको सौन्दर्यीकरणको काम भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए । ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको बताउदै उनले तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको जानकारी गराए ।
आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको बताउदै उनले ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको जानकारी गराए । १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा तालमा विभिन्न प्रजातिका चरा पनि बस्ने गरेको अध्यक्ष न्यौपानेले बताए ।
ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेको उनले बताए ।
टीकापुरकै साउँद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको उनले जानकारी गराए । निर्माण कम्पनीले ढिलाइ गरेपछि एक करोड दुई लाख रुपैयाँमा काम गरिरहेको उनले जानकारी गराए ।


