पौष १० धनगढी । सुदूरपश्चिम प्रदेशमा वित्तीय अपराध बढ्न थालेको छ । विभिन्न बहानामा रकम लिने र नतीर्ने गरेका कारण वित्तीय अपराध बढ्न थालेको हो । बुधवार कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरीलाई प्ररीले बैंकिङ कसुरमा पक्राउ गरेको छ ।
५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट र जिल्ला अदालत बाँकेबाट पनि सोही बराबरको बिगोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । एक करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार दोषी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बैंकिङ कसुरको मुद्दामा दिनदिनै प्रतिवादीहरूलाई पक्राउ गर्न थालेको छ । प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना दिन प्रतिदिन बढ्दै गएका छन् । बैंकिङ कसुर सम्बन्धी घटना सबैभन्दा धेरै कैलाली र कञ्चनपुरको प्रहरी कार्यालयमा दर्ता हुने गरेका छन ।
बैंकको निक्षेप जथाभावी अपचल गर्ने र बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा बैंकिङ कसुर मान्ने गरिएको छ । अपचलन तथा निक्षेप कम भए पनि जानीजानी चेक काट्ने र अरुलाई छल्ने प्रवृत्ति बढ्दा प्रहरीमा मुद्दाको चाङ लाग्न थालेको छ ।
त्यस्ता मुद्दा हेर्न प्रहरीलाई समेत समस्या हुने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा ८७ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकिङ कसुर सम्बन्धी मुद्दा समेत उच्च दरमा बढ्न थालेका छन । चेक नसाटिने घटना बढेपछि बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्यासँगै बिगो रकम समेत बढ्न थालेको छ ।


