मंसिर १९ धनगढी । जिल्ला कारगार कैलालीले ३३ लाख ७४ हजार ५ सय ६२ रुपैयाँ विद्युत महसुल बुझाउन सकेको छैन । नेपाल विद्युत प्राधिकरण धनगढी विद्युत वितरण केन्द्र अन्तर्गत कुल ८३ हजार ९ सय ५३ जना विद्युत ग्राहक मध्यको जिल्ला कारगार कैलालीले ३३ लाख ७४ हजार ५ सय ६२ रुपैयाँ विद्युत महसुल बुझाउन नसकेको हो ।
सर्वसाधारण उपभोक्ताले समयमै विद्युतको बिल तिर्ने गरेको भए पनि सरकारी निकाय र विभिन्न संघसंस्थाले भने समयमा बिल तिर्ने गरेका छैनन् । प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको भए पनि जिल्ला कारागार कैलाली र एक उद्योगले लामो समयदेखि विजुलीको बिल नतिरेको भए पनि लाइन काट्न सकेको छैन ।
त्यसैगरी धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगले २२ लाख ५७ हजार २६ रुपैयाँ विद्युत महसुल तिरेको छैन । समयमा विद्युत महसुल नतिर्ने जिल्ला कारागार र अक्सिन उत्पादन गर्ने मालिका उद्योगको गरी ५६ लाख ३१ हजार ५ सय ८८ रुपैयाँ विद्युत बक्यौता रहेको छ ।बक्यौताका लागि प्राधिकरणले ताकेता गर्दै आएको दाबी गरे पनि लाइन काट्ने आँट भने गर्न सकेको छैन ।
चालु आर्थिक वर्षको हालसम्म एक हजार ९ सय ६२ जना ग्राहकको लाइन धनगढी विद्युत वितरण केन्द्रले काटेको छ । समयमा विद्युत महसुल नतिर्ने उक्त संख्यामा ग्राहकको लाइन काटिए पछि एक हजार ९ सय १८ ग्राहकले बक्यौता रकम तिरेपछि पुनः लाइन जोडिएको धनगढी विद्युत वितरण केन्द्रका सहायक कम्प्युटर अधिकृत जगदिश चन्दले बताए ।
४४ ग्राहकको लाइन भने बक्यौता नतिरेकै कारण नजोडिएको उनलदे बताए । वितरण केन्द्रका सहायक कम्प्युटर अधिकृत चन्दले ५ सय ३१ जना ग्राहकले विद्युत उपभोग गरेर पनि ६० दिन सम्म महसुल नबुझाएको जानकारी गराए ।


