असोज २१ धनगढी । सुदूरपश्चिम प्रदेशमा तीन वर्षको अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट २ हजार ९ सय ३५ क्युफिट काठ बरामद गरिएको छ । काठ बरामदसँगै २९ वटा सवारी साधन समेत बरामद गरिएको छ ।
अबैध काठ कटानी र ओसार पसारमा संलग्न ७० जनालाई पक्राउ गरिएको छ । अबैध काठ बरामदबाट आर्थिक वर्ष २०७७÷७८ मा ९ लाख ७२ हजार ८ सय १०, आर्थिक वर्ष २०७८÷७९ मा तीन लाख ९४ हजार ७ सय ९० र आर्थिक वर्ष २०७९÷८० मा पाँच लाख ७३ हजार २ सय ६० गरी कुल १५ लाख ८५ हजार ५ सय ४९ रुपैयाँ राजस्व समेत असुल भएको छ ।
२०७७ मा १४ सय २२ दशमलव २२ क्युफिट काठ बरामद गरिनुका साथै ५ वजटा सवारीसाधन र २२ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
त्यस्तै २०७८ मा ३ सय ५० दशमलव ६९ क्युफिट अबैध काठ बरामदसँगै ८ वटा सवारीसाधन र २१ जनालाई पक्राउ गरिएको थियो भने २०७९ मा ११ सय ६२ क्युफिट काठ बरामदसँगै १६ वटा सवारीसाधन र २६ जनालाई पक्राउ गरिएको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट अबैध काठ बरामद हुने गरेको बताईएको छ । सामुदायिक, राष्ट्रिय एवं संरक्षित वन क्षेत्रबाट अबैध रुपमा काठ कटानी हुनेक्रम वर्षेनि बढ्दै गए पनि प्रभावकारी रुपमा चोरीतस्करी रोक्ने काम हुन सकेको छैन् ।


