भदौ ३० कञ्चनपुर । शिव शिखर सहकारीले बचतकर्तालाई सामान बाड्न थालेको छ । बचत रकम फिर्ता गर्नुको साटो सहकारीको सामान बाँड्न थालेको हो । बिहीबार देखि सहकारीले २० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताहरूलाई सामान वितरण गर्न लागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य उद्धव तिमिल्सिनाले पहिलो चरणमा सानो परिमाणमा बचत गरेका बचतकर्ताहरूलाई बचत बाफतको भौतिक सामान वितरण गरिएको बताए । उनका अनुसार २०८० भदौ २५ गते सरकारले समस्याग्रस्त घोषणा गरेको उक्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको कार्य समितिले गर्दै आएको छ ।
२०८० पुस १८ गते अनलाइन मार्फत बचत मागदाबी पेस गर्न सूचना प्रकाशित गरिएकोमा २०८१ असार ३० गते बचत बराबरको सामान लिन इच्छुक बचतकर्ताले भीमदत्त नगरपालिकामा दिएको निवेदनका आधारमा सामान वितरण गरिरहेको तिमिल्सिनाले बताए । भीमदत्त नगरपालिकामा निवेदन दिएका २ सय ८५ बचतकर्ताहरूलाई बचत रकम बराबरको सामान दिने र भावी दिनमा ठूला बचतकर्ताहरूलाई पनि क्रमशः वितरण गरिने उनले बताए ।
शाखा कार्यालय कञ्चनपुरको महेन्द्रनगर, बेलौरी र पुनर्वासमा विस्तार गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणको अध्ययन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बुधबार कञ्चनपुर पुगेको थियो । समितिले प्रशासनमा बैठक आह्वान गरेर पीडितलाई सम्बोधन गर्ने र सहकारीको घर खाली गराउने निर्णय गरेको छ । शिवशिखर बहुउदेश्यीय सहकारी कञ्चनपुरले तीन हजार ६ सय ७१ बचतकर्ताको ३१ करोड ९७ लाख रुपैयाँ बचत डुबाएको छ ।
गत मंसिरमा सहकारीका मालिक गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । चार वर्षअघि देखि महेन्द्रनगर, बेलौरी र पुनर्वासमा उक्त सहकारीले शाखा खोलेर झन्डै साढे तीन हजार भन्दा बढी जनताको ३१ करोड बढी रकम संकलन गरेर अपचलन गरेको छ ।


