जेठ ३० धनगढी । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सय १२ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणले समयमै विद्युत् महसुल नबुझाउने तीन हजार ७ सय १२ जना ग्राहकको लाइन काटेको हो । सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्ेको हो ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङगबहादुर चन्दले बताए । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका तीन हजार ७ सय १२ जना ग्राहको विद्युत् लाइन काटेको उनले बताए । विद्युत् महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको बताउदै उनले सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिए पछि लाइन काटिएको जानकारी गराए ।
नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका तीन हजार ७ सय १२ जना ग्राहक मध्ये २ हजार ५ सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेको उनले बताए । लाइन काटिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन नजोडेको बताउदै निर्देशक चन्दले लाइन जोड्ने ग्राहकबाट प्राधिकरणले चार करोड ५३ लाख ७४ हजार बक्यौता रकम असुल भएको जानकारी गराए ।
नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिमका नौ वटा जिल्लामा १२ वटा वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गरिरहेको जानकारी गराउदै उनले पहाडी जिल्लामा विद्युत् सेवा नपुगेका स्थानमा समेत विद्युतीकरणको काम भइरहेको जानकारी गराए । हाल सुदूरपश्चिममा प्राधिकरणका तीन लाख ६७ हजार २ सय ७० जना ग्राहक रहेको जानकारी गराउदै निर्देशक चन्दले गत वर्षको भन्दा २८ हजारले ग्राहक संख्या बढेको जानकारी गराए ।
नेपाल विद्युत् प्राधिकरणले प्रदेश भरी विद्युत् सेवा प्रदान गर्न प्रदेशका विभिन्न स्थानमा वितरण केन्द्र निर्माण र विद्युतीकरणको काम गरिरहेको जानकारी गराउदै निर्देशक चन्दले २०८१ को अन्तसम्म प्रदेशका सम्पूर्ण क्षेत्रमा विद्युत् विस्तार गर्ने योजना अनुसार ठेक्का सम्झौता भएर काम भइरहेको जानकारी गराए ।


