माघ २३ धनगढी । कैलालीको टीकापुर अस्पतालमा अटोक्लेभ मेसिन,फोहोरमैला व्यवस्थापन उपकरण सञ्चालनमा भए पनि सुदूरपश्चिम प्रदेश सरकारको सामाजीक विकास मन्त्रालयले सोही उपकरण खरिदका लागी प्रकृया अगाडी बढाएको छ । टीकापुर अस्पतालमा गत वर्षको कार्तिक देखि फोहोरमैला व्यवस्थापन उपकरण सञ्चालनमा भए पनि यस बर्ष पनि उक्त उपकरण खरिदका लागी प्रकृया सुरु गरिएको हो । टीकापुरमा फोहोर निर्मलीकरण गर्नका लागि गैरसरकारी संस्था कोइकाले झण्डै आठ वर्ष अघि एक शय ५२ लिटर क्षमताको एउटा अटोक्लेभ मेसिन अस्पताललाई दिएको थियो । विश्व स्वास्थ्य संगठनबाट थप अर्को २ शय लिटर क्षमताको अटोक्लेभ मेसिन ल्याएर फोहोरबाट मोहर बनाउन थालिएको छ ।
अध्यक्ष झपटबहादुर सोडारीले दुई महिना देखि अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेको बताए । अहिले प्रदेश सरकारले उपकरण उपलब्ध गराउने तयारी गरेको उनले बताए । टीकापुरमात्र नभई महाकाली प्रादेशिक अस्पतालमा पनि गत वर्षनै फोहोरमैला व्यवस्थापन उपकरण जडान भई फोहोरको व्यवस्थापन गरिरहेको छ । तर, मन्त्रालयको चालु आर्थिक वर्षमा सोही अस्पतालका लागी उक्त उपकरण खरिद गर्ने भन्दै बजेट विनियोजन गरिएको छ । आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका प्रमुख निरज अर्यालले यस वर्ष बजेटमै अस्पतालको नाम किटान गरी फोहोरमैला व्यवस्थापन उपकरण खरिद गर्ने उल्लेख गरिएको बताए । उनले महाकाली प्रादेशिक अस्पताल, टीकापुर, बैतडी र बझाङ जिल्ला अस्पतालका लागि सामाग्री खरिद गरिन लागेको जानकारी गराए ।
बोलपत्र आह्वान भई प्राविधिक मूल्यांकन भइसकेको बताउदै उनले यसको ठेक्का काठमाडौंको बानेश्वरमा रहेको एमएस लाइभलाइन ट्रेड इन्टरनेश्नल प्राइभेट लिमिटेडले पाएको जानकारी गराए । मन्त्रालयले उपकरण खरिद गर्न नौ करोड बढी रकम विनियोजन गरेको जानकारी गराउदै उनले कम्पनिले सात करोड ३१ लाख ७२ हजारमा ठेक्का सम्झौता पाएको बताए । प्रमुख अर्यालले कुनै अस्पतालले आवश्यक छैन भनेर पत्र पठाएमा त्यसको ठाउँमा मन्त्रालयको अनुरोधमा अन्य अस्पतालमा ती उपकरणहरु जडान गरिने बताए । त्यसैगरी सुदूरपश्चिम प्रदेशको संसदीय समिति सामाजिक विकासमा उपकरण खरिदबारे उजुरी परेको छ ।
उजुरी परेपछि समितिले छानविन शुरु गरेको छ । सामाजिक समितिका सदस्य तथा प्रदेश सभा सदस्य प्रकाश बमले अस्पतालमा आवश्यक नपरेको उपकरण खरिद गर्नु उपयूक्त नदेखिएको बताए । उनले अस्पतालमा भएको उपकरण खरिद गर्न जोडतोड भइरहेको बताए । उनले समितिले छानविन गरिरहेकै समयमा केन्द्रले ठेक्का सम्झौता गर्न नहुने बताए । समितिले त्यस विषयमा छानविन गरिरहेको बताउदै उनले आपूर्ति व्यवस्थापन केन्द्रले ठेक्का सम्झौता गरी सकेको बताए । आपूर्ति व्यवस्थापन केन्द्रले चार वटा अस्पतालका लागि खरिद गर्न लागेको फोहोर मैला व्यवस्थापन उपकरणमा आर्थिक अनियमितता भएको उनले बताएका छन ।
प्रदेश सभाको तेस्रो अधिवेशनको छैठौं बैठकमा चार वटा मेसिन खरिद गर्न लागेको जानकारी भएको बताउदै उनले बजारमा बुझ्दा मेसिनको ४० हजार डलर अर्थात ५१ लाख देखि ५२ लाख पर्ने बताए । चार वटा खरिद गर्दा लगभग दुई करोड हुने भए पनि नौ करोडमा बोलपत्र भएकाले आर्थिक अनीयमीत्ता भएको बताए । उनले यसभित्र ठुलो घोटाला भएको र लेखा समितिले पनि चासो लिएकोले प्रदेश सरकारले पनि यस विषयमा छानविन गर्न ुपर्ने बताए । उपकरण खरिदका लागि छ वटा टेण्डर पर्छन ।
पाँच वटाको कागजपत्र नमिलेको भन्दै फालिन्छ र एक जनाले सोझै ठेक्का सम्झौता पाउने गरि काम गरिएको छ । यसमा मिलोमतो पनि देखिन्छ । ठेक्का सम्झौता ३ प्रतिशत विलोमा भएको छ उनले भने । केन्द्रका प्रमुख अर्यालले अन्तराष्ट्रिय मापदण्ड अनुसारनै लागत अनुमान गरि बोलपत्र आह्वान गरिएको बताए । उनले एक उपकरणमा दुई करोड देखि दुई करोड ५० लाख सम्म लागत रहने बताए । उनले प्रदेश सभाका सदस्यहरुले कुन आधारमा ५० लाख भने थाहा नभएको बताए ।


