माघ १७ धनगढी । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । २०८० साल माघ १६ गते रातिबाट उत्पादन सुरु भएको हो । रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट उत्पादन भएको विद्युत लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ९ कटाँसेमा बनेको उत्पादन गृहको ३३ केभी लाइन करिब छ किलोमिटर टाढाको लम्की स्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । परीक्षणका क्रममा साढे एक मेगावाट उत्पादन भएको विद्युत् प्राधिकरण लम्कीका प्रमुख खगेन्द्र प्रसाद धमलाले जानकारी गराए ।
रानीजमराको पुरै उत्पादन भएका तीन वटा टर्बाइनको सहायताले ४ दशमलव ७१ मेगावाट विद्युत् निरन्तर उत्पादन हुने उनले जानकारी गराए । २०७८ माघबाट उत्पादन सुरु गर्ने लक्ष्य भए पनि कात्तिक १ गते आएको बाढीले संरचनामा क्षति पु¥याए पछि पुनर्निर्माणमा ढिलाई भएको थियो ।
दुई अर्बको लागतमा बनेको विद्युत् आयोजनाको विद्युत् गृहमा एक अर्ब पाँच करोड र उपकरणमा ९५ करोड रुपैयाँ लगानी भएको बताईएको छ । त्यसैगरी वरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भैरहेको बताईएको छ । आर्थिक वर्ष २०६६÷६७ सालमा सुरु भएको रानी जमरा कुलरिया आयोजनाको शाखा नहर र नदीहरूमा तटबन्धको निर्माण कार्य जारी बताईएको छ ।


