बैशाख २४ धनगढी । सुदूरपश्चिम प्रदेश सरकार परिबर्तन हुन सक्ने सम्भावना बढेको छ । प्रदेशको सत्ता समीकरण र दलभित्रको आन्तरिक असन्तुष्टिका कारण नयाँ राजनीतिक समीकरण बन्न सक्ने भएकाले सरकार परिबर्तन हुन सक्ने सम्भावना बढेको हो ।
केही समय देखि नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल प्रति असन्तुष्टि बढ्दै गएको अबश्थामा दलभित्रै नेतृत्व परिवर्तनको तयारी र होडबाजी चलिरहेको चर्चा भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख २३ गते सुदूरपश्चिम प्रदेशसभाका एमाले सांसदहरूलाई गुण्डुमा बोलाएर छलफल गरेपछि सरकार परिबर्तन हुने सम्भावना बढेको हो ।
उक्त छलफल पछि तत्काल संसदीय दलको नेता परिवर्तन नगर्ने दिशामा सहमति जुटाइएको बुझिएको छ । ओलीको हस्तक्षेप पछि एमाले भित्र देखिएको विवाद केही समयका लागि मत्थर भएको छ । त्यसैगरी नेपाली कांग्रेस भित्र पनि संसदीय दलको नेतृत्व र मुख्यमन्त्री कमलबहादुर शाहको भूमिकालाई लिएर बहस सुरु भएको विभिन्न राजनीतिक सामग्री र चर्चाबाट संकेत मिलेको छ ।
कांग्रेसको पछिल्लो आन्तरिक संरचना परिवर्तन पछि पूर्व सभापति शेरबहादुर देउवा समूह र वर्तमान सभापति गगन थापा पक्षबीच केही मतभेद सतहमा देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसको शक्ति समीकरण हेर्दा तत्काल मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन सहज अवस्था भने देखिएको छैन ।
कांग्रेसका १८ जना प्रदेशसभा सदस्यहरू मध्ये अधिकांश सांसद देउवा निकट मानिने भएकाले शाह विरुद्धको प्रयास तत्काल सफल हुने सम्भावना देखिएको छैन । यद्यपि प्रदेश सभामा वाम शक्तिको प्रभाव बलियो रहेकाले आगामी राजनीतिक समीकरणले सरकारको भविष्य निर्धारण गर्न सक्ने देखिएको छ ।
विशेषगरी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सहकार्यको वातावरण बनेमा मुख्यमन्त्री शाहको पद संकटमा पर्न सक्ने देखिएको छ । सुदूरपश्चिम सरकारको भविष्य एमालेको निर्णयमा निर्भर रहेको छ । एमाले सरकारमै रहने कि नयाँ सत्ता समीकरणतर्फ अघि बढ्ने भन्ने निर्णयले प्रदेश राजनीतिमा नयाँ मोड ल्याउन सक्ने आँकलन गरिएको छ ।


