बैशाख ०१ धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्र देखि एमबीबीएस अध्यापन सुरु हुने भएको छ । विश्वविद्यालय सभाको बुधबार बसेको बैठकले एमबीबीएस लगायत मेडिकल शिक्षा सञ्चालनसँग सम्बन्धित ६ वटा नियमावली पारित गरेकाले आगामी शैक्षिक सत्र देखि एमबीबीएस अध्यापन सुरु हुने भएको हो ।
विश्वविद्यालय सभाको बैठकपछि शिक्षा विज्ञान तथा प्रविधि युवा र खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि मेडिकल शिक्षाको अध्यापन शुरु गर्ने गरी तयारी थालिएको बताए । उनले सरकारले विश्वविद्यालय सञ्चालन र मेडिकल अध्ययनलाई प्राथमिकता राखेको बताए । आर्थिक हिसाबले कुनै कमीकमजोरी नहोस् भन्ने प्रधानमन्त्रीको पनि निर्देशन भएको बताउदै उनले अर्थ मन्त्रालय पनि सकारात्मक भएको बताए । मन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य अहिलेको सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताए ।
विश्वविद्यालय सभाका सदस्य समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले चिकित्सा शिक्षा सञ्चालन गर्ने र गेटा अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नति गर्ने सम्बन्धमा यसअघि नै निर्णय भइसकेको र बुधबारको बैठकले त्यसका लागि आवश्यक प्रक्रियाहरूलाई थप प्रष्ट गरेकोे बताए । त्यसैगरी विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीले चिकित्सा शिक्षा आयोग समक्ष ५० सिट एमबीबीएस, ३० सिट बीएस्सी नर्सिङ, २० सिट मेडिकल ल्याब टेक्नोलोजी २० सिट बीएस्सी अप्टोमेटरीमा र २० सिट अध्ययन अध्यापनका लागि आवेदन दिइएको जानकारी गराए ।
विश्वविद्यालय सभा पहिलो पटक गेटामै बसेको हो भने यसअघिका तीन वटा बैठक काठमाडौंमा भएका थिए । सभाको अध्यक्ष विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री हुने व्यवस्था रहेको छ । त्यसैगरी सहकुलपति रहेका स्वास्थ्यमन्त्री सभाका सदस्य रहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति र गोदावरी नगरपालिकाका प्रमुख पनि विश्वविद्यालय सभाका सदस्य रहने ऐनमा व्यवस्था रहेको छ । कैलाली क्षेत्र नम्बर–५ का सांसद आनन्दबहादुर चन्दले शिक्षण अस्पताल सञ्चालन भए उपचारका लागि भारत धाउनुपर्ने बाध्यता हट्ने बताए ।
‘अहिलेसम्म शिक्षण अस्पताल नभएको सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षा पढाइ एउटा सपना भएको बताउदै उनले अब त्यो साकार हुने घडीमा पुगेको बताए । त्यसका लागि विश्वविद्यालय भित्र सञ्चालनमा रहेको ५० शय्याको अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको उपकुलपति जोशीले बताए । अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ५८ करोड बजेट माग गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालय हुँदै अर्थ मन्त्रालय सम्म पुगिसकेको जोशीले बताए । उनले विश्वविद्यालयका तीन वटा क्षेत्र चिकित्सा, शिक्षा र अनुसन्धान रहेको बताउँदै आगामी वर्षमा स्याटेलाइट हेल्थ सेन्टरहरू सञ्चालन गर्ने जानकारी गराए । विश्वविद्यालयले फागुन ८ गते शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न दरखास्त आह्वान गरिसकेको जनाएको छ । फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजी लगायत विषयका जनशक्ति पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको उनले जानकारी गराए ।
चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ र असारका लागि चिकित्सकहरूको पारिश्रमिक लगायतका लागि पाँच करोड बजेट प्राप्त भइसकेको विश्वविद्यालयले जनाएको छ । गेटा अस्पतालमा २०८० कात्तिक १ मा ओपीडी सेवा सुरु भएको थियो । सरकारले २०६७ मेडिकल कलेज प्रवद्र्धन समिति बनाएको थियो । पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत २०७२ मा ‘मेडिकल कलेज पूर्वाधार विकास समिति गठन गरेर पूर्वाधारको काम अघि बढाइएको थियो ।
मेडिकल कलेज बनाउने गरी गेटामा अत्याधुनिक भवनहरू बनाइए पनि सञ्चालन ढाँचाको विषयमा अन्यौल हुँदा ती भवनहरू लामो समय सम्म अलपत्र अवस्थामा थिए । सुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनिए पनि पछि प्रतिष्ठानको संरचनामा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । पछि मेडिकल विश्वविद्यालय स्थापनाको माग गरिएको थियो । त्यसका लागि आन्दोलन नै चल्यो । त्यही आन्दोलनको जगमा टेकेर २९ माघ २०७९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
२०७७÷७८ मा करिब सात अर्ब खर्चिएर कैलालीको गेटामा २८ वटा अत्याधुनिक तथा सुविधा सम्पन्न भवन सहित ४२ वटा भौतिक संरचनाको निर्माण पूरा भएको थियो । इन्जिनियर पवन रावलले ६ अर्ब ६८ करोड भन्दा बढी खर्च गरेर गेटाका पूर्वाधार तयार भएको बताए । हाल सञ्चालित गेटा अस्पतालमा ओपीडी, स्त्रीरोग सम्बन्धी शल्यक्रिया, हाडजोर्नीको शल्यक्रिया, सामान्य शल्यक्रिया सेवा, प्रयोगशाला, इको, एक्सरे, ईसीजी, अल्ट्रासाउन्ड सेवा उपलब्ध रहेको छ । मेमोग्राफी स्तन क्यान्सर पहिचान, इन्डोस्कोपी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।


