चैत्र १२ धनगढी । धनगढीमा बिहीबार छुट्टाछुट्टै ठाउँमा विद्यार्थीहरु बीच झडप हुँदा २ जना घाईते भएका छन । धनगढी उपमहानगरपालिका वड नम्बर—१ को त्रिनगर माध्यमिक विद्यालय अगाडि र वडा नम्बर ४ को यातायात जाने बाटो नजिकै विद्यार्थीहरु बीच झडप हुँदा २ जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका वडा नम्बर—१ को त्रिनगर माध्यमिक विद्यालय अगाडी र वडा नम्बर ४ को यातायात जाने बाटो नजिकै विद्यार्थीहरुबीच झडप भएको जानकारी गराए । दुवै ठाउँमा भएको झडपमा परी दुई जना घाइते भएको उनले जानकारी गराए ।
त्रिनगर स्कुल नजिकै भएको झडपमा सोही विद्यालयमा ८ कक्षाको वार्षिक परीक्षा दिन गएका पशुपति टोल बस्ने १५ वर्षीय किशोरमाथि कुटपिट भएको उनले जानकारी गराए । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न ८ कक्षाकै परीक्षा दिइरहेका धनगढी उपमहानगरपालीका वडा नम्बर—२ का तीन जना किशोर फरार भएको जानकारी ग राउदै उनले उनीहरुको खोजी भईरहेको बताए ।
बोराडाँडी स्थित यातायात कार्यालय जाने बाटो नजिकै भएको अर्को कुटपिटमा पनि कक्षा ८ मै अध्ययनरत विद्यार्थी घाइते भएको बताईएको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर–३ बस्ने १६ वर्षीय रिमाल थरका किशोर घाईते भएको प्रहरीले जनाएको छ ।
उनी जनता आधारभूत विद्यालयमा अध्ययनरत भएको प्रहरीले जानकारी गराएको छ । रिमाललाई धनगढी उपमहानगरपालीका वडा नम्बर–४ मा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयमा अध्ययनरत १० देखि १५ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट पछि उनीहरु फरार रहेको प्रहरीले जानकारी गराएको छ ।


