चैत्र ११ धनगढी । कैलाली र कञ्चनपुरबाट लागूऔषध (खैरो हिरोइन) सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको भजनी नगरपालिका वडा नम्बर–५ पृथ्वीपुरबाट २ ग्राम ७० मिलिग्राम खैरो हिरोइन सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जानकी गाउँपालिका वडा नम्बर–२ परागीपुरका ३० वर्षीय प्रकाश भण्डारी, २६ वर्षीय प्रकाश वडुवाल र २८ वर्षीय प्रविन भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र पृथ्वीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको हो ।
बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त लागूऔषध फेला पर पछि लागूऔषध सहित मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ बन्साहबाट १ ग्राम ६५ मिलिग्राम खैरो हिरोइन सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर–१ का २० वर्षीय आकाश चौधरी र सोही नगरपालिका वडा नम्बर–२ का २१ वर्षीय अबिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


