चैत्र ०७ बैतडी । बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्ष देखि पशु चिकित्सक विहीन भएको छ । करारमा रहेका पशु चिकित्सकले स्थायी सेवामा नाम निकालेर अन्तै गएपछि भेटेरिनरी अस्पताल डेढ वर्ष देखि पशु चिकित्सक विहीन भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका निमित्त प्रमुख गुमानीदत्त पन्तले विज्ञ केन्द्रमा एक जना पशुसेवा चिकित्सकको दरबन्दी भए पनि सुदूरपश्चिम प्रदेश सरकारले पदपूर्ति गर्न नसकेका कारण भेटेरिनरी अस्पतालमा पशु चिकित्सक नहुँदा पशुमा देखिने विशिष्ट रोगको पहिचान हुन सकेको बताए ।
त्यसैगरी डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले केही दिन अघि सिगास गाउँपालिकाको जंगलमा चितुवाको बच्चा घाइते हुँदा त्यसको उपचारका लागि पशु चिकित्सक भेटेनरी अस्पताल पाटनमा नहुँदा डडेलधुराबाट बोलाएर उपचार गराएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको विज्ञ केन्द्रमा एक वर्ष देखि पशु चिकित्सक नहुँदा पनि मन्त्रालयले पदपूर्ति गर्न सकेको छैन ।
विज्ञ केन्द्रमा पशु चिकित्सक नहुँदा पशु स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न सकिएको छैन । पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब, शल्यक्रिया, डाइग्नोसिस जस्ता पशु स्वास्थ्य सेवा प्रभावित बनेको प्रमुख पन्तले बताए ।


