स्थानीय तहमा भ्रष्टाचार मौलाउदै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा भ्रष्टाचार सम्बन्धी मुद्धाका चाङ लाग्ने गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएर लागी रहेको छ । तर पनि भ्रष्टाचारको जरा फैलिएकै गएको छ । भ्रष्टाचारजन्य अपराध विरुद्ध अख्तियारले विशेष अप्रेसन चलाएर विभिन्न काम गर्दै आएको छ । विशेष अदालतमा मुद्दा दर्ता समेत गरेको छ ।
कैयौंमा अख्तियारले सफलता प्राप्त गरेको छ । सरकारी जग्गा अतिक्रमण, सूचना प्रविधि, स्वास्थ्य क्षेत्रका उपकरण खरिद, लगायत भ्रष्टाचार भएका निबेदनहरु आउने गरेका छन । सार्वजनिक निकायको कामकारबाहीमा स्वच्छ र पारदर्शी ढंगले कामकारबाही हुन नसके भ्रष्टाचारजन्य कार्यमा कमी नआउने भएकाले सरकार भ्रष्टाचार विरुद्ध कठोर बन्न जरुरी छ । सुशासनको पहिलो आधार स्वच्छ आचरण भएकाले गलत आचरण,व्यवहार र परिपाटी समयमा रोकथाम गर्न जरुरी छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२५ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले ३४ अंक पाएको छ । यसले नेपालको भ्रष्टाचारको अबश्था देखाएको छ । भ्रष्टाचार नियन्त्रण र काराबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गरी रहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको हो । त्यसपछि नागरिकको हो । अरूलाई भ्रष्ट र आफूलाई मात्रै सज्जन देख्ने परिपाटीको अन्त्य गर्न जरुरी छ ।
भ्रष्टाचारको न्यूनीकरण जनस्तरबाटै हुन आवश्यक छ । आयोगको भरमा परेर मात्र भ्रष्टाचार नियन्त्रण नहुने भएकाले नागरिकको मन र सोच बदलीनु जरुरी छ । शक्ति र पैसाको बलमा भ्रष्टाचारीलाई संरक्षण हुदै आएकाले सर्ब प्रथम देशको सिस्टमलाई बदल्न आवश्यक छ । जति ठूलो भ्रष्टाचारी, उति ठूलो समाजसेवीको आवरणमा सम्मानित हुने विकृत संस्कृतिको अन्त्य गर्न सबै भन्दा पहिले जनता सक्रिय हुन जरुरी छ ।
जबसम्म समाजले भ्रष्टचारीलाई बहिष्कार गर्दैन तबसम्म कानुनी डन्डाले मात्र भ्रष्टाचारको अन्त्य हुन नसक्ने भएकाले समाजले भ्रष्टलाई बहिष्कार गर्न जरुरी छ । समस्या कानुनमा नभई नियतमा भएकाले नियत सफा नभएका मन्त्री, प्रधान मन्त्री जोकोहीले पनि नियत सुधार्न जरुरी छ । समस्या कागजमा होइन, चरित्रमा भएकाले चरित्र सफा बनाउन आवश्यक छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मर्मलाई बुझेर भ्रष्ट नेता कार्यकर्ता कर्मचारी सबैले नियत सफा बनाउन जरुरी छ । सुशासनका लागी भ्रष्टाचारको अन्त्य हुनै पर्छ । त्यसका लागी जनता सचेत हुन जररी छ । जिम्मेवार नागरिक बनेरसुशासन कायम गर्न लाग्न जरुरी छ ।

