कार्तिक ०७ दार्चुला । दार्चुलाका नौ वटै स्थानीय तहका ३३ वटा वडाले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस सेवा सुरु गरेका छन् । नौ वटै स्थानीय तहका ६१ वटा वडामध्ये ३३ वटा वडाले अनलाइन सिफारिस सेवा सुरु गरेका हुन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ३३ वटा वडाले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस सेवा सुरु गरेको जानकारी गराएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले अनलाईन प्रणाली सुरु भएपछि सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिस बोकेर प्रशासन कार्यालय धाउनु पर्ने झन्झट हटेको बताए । “गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरका साथ प्रशासनमा पठाउने जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनले त्यही कोड नम्बरका आधारमा विवरण रुजु गरी नागरिकता प्रदान गर्ने बताए ।
अनलाइन सिफारिस प्रणालीले सेवाग्राहीलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्नुका साथै गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पु¥याएको उनले बताए । अनलाईन सेवा प्रणाली सञ्चालन गर्न ६१ वडाका अध्यक्ष र सचिवलाई अनलाइन सिफारिस प्रणाली सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया गराइएको उनले जानकारी गराए ।
प्रशासनले सेवा सरलीकरणका लागि नागरिक बडापत्र, क्यूआर कोड, सफ्टवेयर उपकरण लगायतका प्रणाली लागू गरेको जानकारी गराउदै उनले सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालय भित्रै हुलाक डेस्क स्थापना समेत गरिएको जानकारी गराए । हुलाक टिकट लिन टाढा जानुपर्ने बाध्यता हटाउन हुँलाक डेस्क स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी गराएको हो ।
नौगाड गाउँपालिकाका छ वटै वडाबाट अनलाइन नागरिकता प्रणाली सुरु भएको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीतसिंह धामीले जानकारी गराए । दुर्गम भए पनि गाउँपालिकाका सबै वडाबाट नागरिकता सिफारिस अनलाइनबाटै सुरु गरिएको उनले जानकारी गराए । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका नौ वडामध्ये हाल पाँच वटा वडाबाट नागरिकता सिफारिस प्रणाली सञ्चालन भएको छ ।
नगरपालिकाका वडा नम्बर १, २, ४, ७ र ८ बाट यो सेवा सञ्चालन गरिएको छ । त्यसैगरी शैल्यशिखर नगरपालिकाको वडा नम्बर १, ५, ६, ८ र ९ बाट अनलाइन सिफारिस सुरु भएको छ । नौ वडा रहेका नगरपालिकाका चार वटा वडामा यो सेवा सञ्चालन हुन सकेको छैन । सबै वडामा इन्टरनेटको प्रभावकारिता नहुँदा सिफारिस प्रणाली सञ्चालन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी गराए ।
अहिले अनलाइन सिफारिस प्रक्रिया सुरु गर्न नसकिएको वडामा राम्रो इन्टरनेट पु¥याउन नसकिएको उनले बताए । त्यसैगरी आठ वटा वडा रहेको मालिकार्जुन गाउँपालिकाका सात वटा वडामा अनलाइन नागरिकता सिफारिस सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा अनलाइन सिफारिस सेवा सञ्चालन भएको छैन । दुहँ गाउँपालिकाका पाँच वटा वडा मध्ये वडा नम्बर ४ र ५ ले मात्रै अनलाइन सिफारिस सुरु गरेको छ ।
अपि हिमाल गाउँपालिकाका छ वटा वडा मध्ये वडा नम्बर २ र ४, व्यास गाउँपालिकाका छ वटा वडा मध्ये वडा नम्बर ४, मार्मा गाउँपालिकाका छ वटा वडा मध्ये वडा नम्बर ३ र ५ तथा लेकम गाउँपालिकाका छ वटा वडा मध्ये १, ५ र ६ ले मात्रै अनलाइन नागरिकता सिफारिस प्रणाली सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले अनलाइन सिफारिस प्रणालीले सरकारी कार्यालयलाई कागजरहित र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको बताए । पहिले कागजात नमिले प्रशासनमा पुगेपछि सेवाग्राहीलाई खाली हात फर्किनुपर्ने समस्याको अब अन्त्य भएको उनले बताए । त्यसैगरी नागरिकलाई गाउँमै सहज सेवा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दार्चुलाले व्याँस, लेकम र अपि हिमाल गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेको उनले जानकारी गराए ।
पहिलो चौमासिक अवधिमा सञ्चालन गरिएका शिविर मार्फत अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई नागरिकता, प्रतिलिपि तथा राष्ट्रिय परिचय पत्र बनाउने सुविधा प्रदान गरिएको उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको नेतृत्वमा गएको टोलीले गाउँमै सेवा उपलब्ध गराएको र यसले नागरिकलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराए ।


