कार्तिक ०३ धनगढी । कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउन देखि असोज सम्ममा एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले ेभन्सार महसुलतर्फ ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ पाँच करोड तीन लाख र अन्यतर्फ ३५ करोड ५८ लाख राजस्व सङ्कलन भएको जानकारी गराए ।
चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न नसकेको उनले बताए ।
साउनमा ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ५३ करोड ७० लाख र असोजमा ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६७ करोड ७८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी गराए ।
चालु आर्थिक वर्षमा नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले जानकारी गराए । तीन महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत भएको उनले बताए ।
आर्थिक वर्ष २०८१÷८२ मा पनि राजस्व लक्ष्य अनुसार सङ्कलन हुन नसकेको उनले जानकारी गराए ।
गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी गराए ।
गत बर्ष वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै राजश्व संकलन भएको उनले जानकारी गराए ।


