कार्तिक ०१ धनगढी । कैलालीमा एक हजार एक सय ३७ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले असोज १० गतेदेखि मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु गरेकोमा हाल सम्म एक हजार एक सय ३७ जना नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय, धनगढीले कैलालीमा शुक्रवार सम्म एक हजार एक सय ३७ नयाँ मतदाता थप भएका जानकारी गराएको हो । ७७ वटै जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएकाले सङ्ख्या बढी पनि हुन सक्ने अनुमान गरिएको छ । शुक्रवार दिउँसोसम्म दुइ सय ५० जनाले ठाउँ सारेको बताईएको छ ।
प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम राज भट्टले ७७ वटै जिल्लाबाट नाम दर्ता गर्न पाउने व्यवस्था रहेको बताएका छन् । निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता, बायोमेट्रिक तथा ठाउँ सच्याउने काम गर्दै आएको उनले जानकारी गराए । कात्तिक ३१ गतेसम्म निर्वाचन आयोगले नामा दर्ताको काम गर्ने जानकारी गराउदै उनले ठाउँ सार्न चाहेकाहरूले अनलाइनबाट पनि काम गर्न सक्ने बताए ।
कैलालीमा सात हजारसम्म नयाँ मतदाता थप हुन सक्ने अनुमान गरिएको बताउदै उनले यस अघि कैलालीमा पाँच लाख ३७ हजार मतदाता रहेको जानकारी गराए । प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख भट्टले नयाँ मतदाता नामावली दर्तासँगै अन्य तयारीका काम पनि जारी रहेको बताए । मतदान केन्द्रको अवस्था खानेपानी, बिजुली, बाटो लगायतका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए ।
स्थानीय सरकारसँगको सहकार्यमा निर्वाचन क्षेत्रहरूको अवस्था बुझ्न थालेको बताउदै उनले टीकापुर र लम्की क्षेत्रका निर्वाचन केन्द्रहरूमा पुगेको बताए । कैलालीमा हाल छ सय २९ वटा मदान केन्द्रहरू रहेको उनले जानकारी गराए । निर्वाचन सामाग्रीसमेत तयारी अवस्थामा राख्न निर्देशन भएकाले सोही अनुसारको काम थालिएको उनले बताए ।
प्रदेश निर्वाचन कार्यालयमा रहेको सामाग्रीहरूको अद्यावधिक तथा अवस्थाका बारेमा केन्द्रलाई जानकारी पठाउने तयारी गरिएको उनले बताए । सुदूरपश्चिम प्रदेशमा १६ लाख मतदाता रहेको जानकारी गराउदै उनले १२ हजारसम्म नयाँ मतदाता थप हुन सक्ने अनुमान गरिएको जानकारी गराए ।


