असोज ३१ कञ्चनपुर । कञ्चनपुर जिल्लामा कार्यरत ७ जना उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको छ । कञ्चनपुरका विभिन्न कार्यालय एवं युनिटमा कार्यरत सात जना प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको हो ।
शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रहरी अधिकृत देखि जवान सम्मका ७ जनालाई सम्मान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले उत्कृष्ट कामकाज सम्पादन गर्ने ७ जना प्रहरीलाई सम्मान गरिएको जानकारी गराए ।
प्रवक्ता बोहराले प्रहरी निरीक्षक वीरबहादुर बोहरा, प्रहरी सहायक निरीक्षकद्वय सुरेन्द्रसिंह धामी, ललितबहादुर बटाला, वरिष्ठ हवल्दारद्वय दीपक विष्ट, कृष्णदेव पन्त र प्रहरी जवान महेशसिंह बोहरालाई नगदका साथै प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको जानकारी गराए ।
वरिष्ठ प्रहरी हवल्दार विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाटै सम्मान गरिएको उनले बताए । दिवसको अवसरमा आन्तरिक प्रतियोगिताका विजेताहरूलाई समेत पुरस्कृत गरिएको छ ।
पुरस्कृत भएका प्रहरी जवान देखि अधिकृतहरूले सम्मान र पुरस्कारबाट उत्साहित भएको बताउँदै संगठनले आगामी दिनमा दिने जिम्मेवारी थप प्रभावकारी ढंङगर्ले निर्बाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।


