असोज २९ बझाङ । बझाङको मष्टा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाको वडा नंम्बर १ को जेन जी समुहले मंगलबार कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो ।
आफूहरुले केही मागहरु राखेको र सो मागको सुनूवाई नभएका कारण कार्यालयमा तालाबन्दी गरिएको जेन जी समुहका संयोजक हिमाल खड्काले बताए ।
उनले मष्टा गाउँपालिका वडा नम्बर– १ मा रहेका विभिन्न समस्याहरुको समाधानका लागि गाउँपालिकासँग मागको सम्बोधनका लागि जाँदा जिम्मेवार निकायले मागको वेवास्था गरेकाले तालाबन्दी गरिएको बताए ।
उनले माग सम्बोधन नभए सम्म तालाबन्दी यथावत रहने बताए । उनिहरुले वडामा खानेपानी, सडक, पातलगडामा पुल, विद्युत, सहकारीले हिनामिना गरेको रकम फिर्ता गरी सहकारीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकामा रहेका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।


