असोज २४ धनगढी । जेन्जी पुस्ताको आन्दोलनका क्रम्मा भदौ २४ गते आगजनी भएको मालपोत र नापी कार्यालय धनगढीको सम्पूर्ण सेवा सुचारु गरिएको छ । आगजनी र तोडफोड भएका दुबै सरकारी कार्यालयहरूले सेवा पुनःसुचारु गरेका हुन् ।
मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रुपले जलेको थियो । कार्यालयमा रङरोगन, विद्युतीकरण तथा नयाँ कम्प्युटरहरू जडान गरेर सेवा दिन थालिएको हो । मालपोत कार्यालयको वाइरिङ पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
दुई तले भूमि सुधार तथा मालपोत कार्यालयको भवनमा आगलागीका कारण वायरिङ जलेर नष्ट भएको कार्यालयले बताएको छ । कार्यालयमा कम्प्युटर समेत जलेकाले नयाँ कम्प्युटरहरू जडान गरिएको छ ।
नापी कार्यालयको एक कोठामा आगजनी भएको थियो । कार्यालयका कम्प्युटर फुटाइएकका थिए । नापी कार्यालयले सम्पूर्ण सेवा सुरु गरेको छ । तर, जग्गाको कित्ताकाट रोकिएको छ ।
जग्गाको वर्गीकरणको काम पूरा नभएकाले कित्ताकाटको काम रोकिएको हो । नक्सा उतार र फिल्ड बुक उतारको काम भई रहेको छ ।


