असोज २२ धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनी पछि सबै प्रकारका सेवा ठप्प रहेको जिल्ला प्रशासन कार्यालयले बुधवार देखि परिचयपत्र सम्बन्धी सेवा सुचारु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले मङ्गलवार परीक्षणका रूपमा थालिएको राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बुधवार देखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जानकारी गराए ।
दशैँ लगत्तै सेवा सञ्चालन गर्ने पूर्व तयारी अनुसार नै काम अघि बढाइएको जोशीले बताए । राहदानी सम्बन्धी सेवा समेत सुचारु गर्ने तयारी भइरहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धी सेवा भने जेनजी आन्दोलनको केही दिनपछि वैकल्पिक व्यवस्था गरेर सञ्चालन गरेको थियोे ।
आन्दोलनका क्रममा आगजनी गरिए पछि जिल्ला प्रशासन कार्यालयका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए ।
प्रशासनले अत्यावश्यक सेवा सञ्चालनसँगै पुनः निर्माणको काम समेत अघि बढाइरहेको जोशीले जानकारी गराए ।


