भदौ ०१ काठमाडौँ । देशभर चार महिनाको अबधीमा कुल दुई हजार ८ सय ५३ वटा विपद्का घटनामा परी एक सय २६ जनाको ज्यान गएको छ भने पाँच सय ८५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख देखि साउन ३१ गतेसम्म दुई हजार ८ सय ५३ वटा विपद्का घटनामा परी एक सय २६ जनाको ज्यान गएको हो भने पाँच सय ८५ जना घाइते भएका हुन ।
त्यसैगरी विपदमा परी २३ जना बेपत्ता भएका छन भने पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।
त्यसैगरी, आगलागीका एक हजार १ सय १४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् ।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन वटा घटना घटेका छन् । विपदमा परेर एक जनाको ज्यान गएको छ ।
त्यसैगरी ३८ लाख ४० हजार बराबर अनुमानित क्षति भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० जना प्रहरी परिचालन गरिएको छ ।


