साउन १५ धनगढी । बुहारी रन्जीता श्रेष्ठलाई विस्थापित गर्दै ससुरा लालविर चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनेका छन । काठमाडौंको बानेश्वरमा बिहीबार बसेको राष्ट्रिय भेलाले निर्णय गरेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका संरक्षक रेशम चौधरीका बुवा लालवीर चौधरी बुहारी रन्जीता श्रेष्ठलाई विस्थापित गर्दै अध्यक्ष बनेका हुन ।
ससुरा लालवीर चौधरीले धेरै मन्थन गरेर आठौं दिनमा अध्यक्ष परिवर्तन गर्ने निष्कर्षमा पुगेको बताए । उनले अध्यक्षको जिम्मेवारी पाइसके पछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउने बताउदै सम्पूर्ण संघ र प्रदेशका सांसदहरूलाई धन्यवाद दिए । उनले अध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक नराखेको समेत बताए ।
श्रेष्ठलाई अझै पनि सहमति र सहकार्यका लागि आउन उनले आग्रह गरे । उनले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेकोले पार्टीले त्यहाँ उम्मेदवारी दिन पनि यो निकासको प्रबन्ध गरिएको बताए । उनले बुहारी रन्जीतालाई बैठकमा उपस्थित भई दिन आग्रह गर्दै पार्टीका सदस्यहरूलाई लगाएको आरोपको सामना गर्न तयार भएको बताए ।
उनले श्रेष्ठका बारेमा धेरै कुरा भन्न आफूले नचाहेको पनि बताए । गत निर्वाचनमा लालवीर बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा रेशमले बर्दियाबाट उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले गम्भीर प्रकृतिको फौजदारी कसुरमा जेलभित्र रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै उनको उम्मेदवारी दर्ता भए पनि दाबी विरोधमा खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि नागरिक उन्मिुक्ति पार्टीले रेशमका बाबु लालवीरलाई समर्थन गरेर चुनाव जिताएको थियो ।
निर्वाचित भएको केही समयमै उनी नागरिक उन्मिुक्ति पाटीमा प्रवेश गरेका थिए । उनी संस्थापक सदस्य २१ जना भित्र भने पर्दैनन् । २०७८ सालमा रेशम चौधरी जेलभित्र भएका बेला नागरिक उन्मिुक्ति पाटी गठन भएको थियो । रेशमले पत्नी रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए ।
टीकापुर प्रकरणमा बाँकी कैद माफी पाएर जेलबाट रिहा भएपछि २०८० पुसमा पहिलो महाधिवेशन गरेर रेशम पार्टी अध्यक्ष बनेका थिए । तर निर्वाचन आयोगले वैधता नदिए पछि नागरिक उन्मिुक्ति पाटी पुरानै कार्यसमितिमा फर्केको थियो । रेशम निर्वाचन आयोगको उक्त निर्णयविरूद्ध सर्वोच्च अदालत गएका छन्, मुद्दा विचाराधीन छ ।
रञ्जिता पक्ष भने निर्वाचन आयोगले लालवीर नेतृत्वको कार्यसमितिलाई वैधता नदिने विश्वासमा छ । यसअघि प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन् । पोखराको लिचीबारी जग्गा सम्बन्धी घुस डिल अडिओ प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएकी थिइन् ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएर स्पष्टीकरण समेत सोधेको थियो । विवादमा परेपछि अध्यक्ष रञ्जिताले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष दिएकी थिइन् । श्रेष्ठले आफूलाई अवैध राष्ट्रिय भेलाले अध्यक्षबाट हटाउन नसक्ने दाबी गर्दै आएकी छिन् ।


