असार २९ धनगढी । नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले नागरिकको जीवनस्तर सुधार गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताएका छन ।
आईतबार कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्र्तगत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
मन्त्री यादवले सरकारले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्न निरन्तर प्रयास गरिरहेको बताए । ‘समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताउदै उनले सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडी बढ्ने बताए ।
लम्कीचुहा नगरपालिकामा खानेपानीको निकै समस्या भएका कारण नागरिकलाई स्वच्छ, सुरक्षित खानेपानी प्रदान गर्ने उद्देश्यले उक्त आयोजनाको शिलान्यास गरिएको उनले बताए । देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ भएको बताउदै उनले त्यसलाई सार्थक बनाउन गाउँ–सहर, हिमाल–पहाड–तराई सम्मका सबै बस्तीमा खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माणमा जोड दिएको बताए ।
आयोजनालाई सफल बनाउनका लागि नेपाल सरकार, लम्की चुहा नगरपालिका र खानेपानी उपभोक्ता समितिको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको मन्त्री यादवले बताए । त्यसैगरी लम्की चुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले आयोजना सम्पन्न भए पछि स्थानियहरुलाई खानेपानीमा राहत हुने बताईन । उनले आयोजनालाई सफलता पूर्वक सम्पन्न गर्नका लागि सबै पक्षलाई अनुरोध गरिन ।
उक्त आयोजना सम्पन्न भएपछि नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ का नागरिकहरुले सेवा पाउने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बताए । उनले आयोजनाले कम्तिमा पनि ७५ हजार ५ सय बढी नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।
आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, खानेपानी उपभोक्ता समितिको २५ प्रतिशत र लम्की चुहा नगरपालिकाको ५ प्रतिशत लागत साझेदारी रहेको उनले जानकारी गराए । आयोजना निर्माणका लागि यही असार २३ गते सुप्रिम जयमाता जेभी र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयबिच ठेक्का सम्झौता भएको आयोजना प्रमुख अरुणकुमार कर्णले जानकारी गराए ।
आयोजना निर्माणका लागि निर्माण कम्पनिसँग मूल्य अभिवृद्धि करसहित २९ करोड ४८ लाख ३२ हजार ४ सय ९९ मा ठेक्का सम्झौता भएको बताउदै उनले सम्झौता अनुसार निर्माण कम्पनिले २०८५ असार २५ गते भित्र आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने जानकारी गराए ।


