जेठ २८ धनगढी । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान कार्यान्वयन र जनमुखी कानुन निर्माणमा सांसदहरूको भूमिका कमजोर देखिएको बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले यस्तो बताउका हुन ।
सांसदहरूलाई थप जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्दै उनले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैली माथि प्रश्न उठाएका छन । वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीभित्र गरिने पदाधिकारी बैठकमाथि उनले प्रश्न उठाएका हुन् ।
संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको बताउदै उनले यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई चुनौती दिएको बताए ।
विगत १० महिना देखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको बताउदैै महरले पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शिर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको आरोप लगाए ।
०७९ सालमै महामन्त्री लड्ने घोषणा गरिसकेको बताउदै उनले आगामी महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार भएर निर्वाचित हुने दाबी गरे । ७४ जिल्ला पुगिसकेको बताउदै उनले सबैले महामन्त्रीमा लड्न सुझाब दिएको बताए ।
नेताको चरित्र र आचरणको प्रतिबिम्ब देशको शासन प्रणालीमा देखिने भएकाले सुशासनका लागि नेताहरू स्वयं नैतिकवान हुनुपर्ने र पार्टी आदर्शवादी हुनु पर्ने उनले बताए । दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आवश्यक नीति, कानुन निर्माण गरेर यथाशक्य छिटो संचालन गर्नुपर्ने नेता महरले बताए ।
कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका महरले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको हब बनाउने बताए । ‘नेपाली विद्यार्थीहरु मात्र विदेश जाने नभई विदेशी विद्यार्थीलाई नेपालमा छात्रवृत्ति दिएर अध्ययनका लागि आकर्षित गर्ने नीति लिनु पर्ने बताउदै उनले ज्ञान लिएर फर्किने विदेशी विद्यार्थीहरू संसारभर नेपालका लागि अवैतनिक राजदूत बन्ने बताए । जसले गर्दा जनपक्षीय कूटनीति सफ्ट पावर लाई विश्वव्यापी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए ।


