जेठ २१ धनगढी । कैलालीको भजनी स्थित पुरैना तालको अतिक्रमण फेरि हटाउन थालिएको छ । भजनी नगरपालिका वडा नम्बर–७ मा रहेको पुरैना तालको तालको अतिक्रमण फेरि हटाउन थालिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले तालको अतिक्रमण खाली गर्न थालेको हो ।
विगत देखिको लामो प्रयास पछि पुरैना ताल पुर्नःस्थापनाको काम थालेको डिभिजन प्रमुख रामचन्द्र कँडेलले जानकारी गराए । तालको सुरक्षणका लागि बाँध निर्माणको काम थालिएको उनले बताए । तालको अतिक्रमण खाली गर्न स्थानीय तहले समेत सहयोग गरेको उनले बताए ।
जैविक विविधताले निकै महत्त्वपूर्ण ताल २०७० साल देखि अतिक्रमणको चपेटामा परेको थियो । मानवीय हस्तक्षेपले ताल क्षेत्र खेतीयोग्य जमिनमा परिणत भएको छ । विगतमा विभिन्न प्रजातिका चरा रमाउने पुरैना सिमसार क्षेत्रमा हाल किसानले खेतीपाती गर्ने गरेका छन् ।
यस तालको पुर्नःस्थापना गरेर पहिलेकै अवस्थामा फर्काउने र पर्यापर्यटनको विकासमा टेवा पु¥याउने लक्ष्य डिभिजन वन कार्यालयको रहेको उनले बताए ।
पुरैना तालको पुर्नःस्थापनाका लागि दुई वर्ष अगाडि ताल क्षेत्रको सीमाङ्कन र नक्साङ्कन गर्ने कार्य भएको भए पनि केही स्थानीयले सुकुम्वासी आयोगले दिएको जमिन पनि ताल क्षेत्रमा मिसाएको भन्दै पुनः अतिक्रमण गरेको बताईएको छ ।


