जेठ २१ धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको पहलमा मंगलबार धनगढीमा “प्रकृतिप्रेमीको आँखामा सुदूरपश्चिम” नामक कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेशसभा कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रलाई विकासको मुख्य आधार बनाउँदै जानुपर्ने बताए ।
उनले खप्तड, वडीमालिका, रामारोशन जस्ता पर्यटकीय क्षेत्रको नयाँ तरिकाले विकास भइरहेको जानकारी गराउदै कैलालीको टीकापुर र भजनी क्षेत्रमा पाइने डल्फिन संरक्षण तथा डल्फिन पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन हुने जानकारी गराए । मन्त्रालयसँग रहेको ५५ करोड बजेटले पर्यटन र उद्योग प्रवद्र्धन गर्नमा कठिनाइ भइरहेको बताए ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले माउन्टेन फ्लाइट, केबुलकार तथा इको–पर्यटन जस्ता अवधारणामा पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सहभागी धेरै जसोले पर्यटनलाई छुट्टै मन्त्रालयमा लैजानुपर्ने धारणा राखेका थिए ।
प्रदेशसभा सदस्य डा. जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले हालको मन्त्रालय संरचनामा पर्यटनको समुचित विकास हुन नसक्ने बताए । कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई ‘देवभूमि’ र प्राकृतिक एवं सांस्कृतिक धरोहरको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका नेता खगराज भट्टले योजनाबद्ध, जिम्मेवार र इमान्दार राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र रहेमा मात्र मुलुकको पर्यटन क्षेत्र अगाडि बढ्ने बताए । पर्यटन विकासमा गहिरो रुचि राख्ने क्याप्टेन वेद उप्रतीले कर्णाली र मोहनामा डल्फिन सेन्टर निर्माण, खप्तडमा स्की खेल तथा शुक्लाफाँटामा बाह्रसिंगे हेर्न सकिने छुट्टै क्षेत्र विकास गर्न सुझाव दिए ।
व्यवसायी ओम विष्टले नदीमा पाइने डल्फिनको संरक्षण र दीर्घकालीन व्यवस्थापन आवश्यक भएको बताए । पर्यटनकर्मी गणेश मगरले पूर्वाधार, प्रचार प्रसार, हवाई टिकटको महङ्गोपन, ड्रोन अनुमति लगायतका समस्या पर्यटन विकासका मुख्य बाधक रहेको बताए ।
वनस्पति अध्ययन केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम प्रदेश जडीबुटी तथा वनस्पति अध्ययनको दृष्टिले ‘भर्जिन क्षेत्र’ भएको बताउदै यसको संरक्षण र उपयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँवर, पर्यटन व्यवसायी प्रकाश भट्ट, लक्ष्मीनारायण चौधरी, सीताराम जोशी, पदमविक्रम सिंह, रविन पन्त,पर्यटन पत्रकार समाजका अध्यक्ष अमर भट्टराई लगायतको सहभागिता रहेको थियो ।


