जेठ २० धनगढी । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पुग्ने बताएकी छन । धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले लगानी तथा विकास सम्मेलनमा केन्द्र सरकारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीको पनि सहयोगी भूमिका रहेको बताइन् ।
सुदूरपश्चिम लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेको बताउदै उनले, “नेपालमा लगानी गर्न धेरैको चासो भएको बताईन । लगानी गर्न इच्छुकहरूका लागि सरकारले केही नियम कानुन सुधार गर्नुपर्ने भएकाले लगानीमैत्री वातावरण निर्माणमा लागेको उनले बताईन ।
हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका युवक विपिन जोशीको रिहाइ बारेको जिज्ञासामा उनले मन्त्रालयका तर्फबाट धेरै पहल गरिएको, हमाससँग इरानका परराष्ट्रमन्त्रीले कुरा गरिदिएको, इजिप्टसँग नेपालका प्रधानमन्त्रीले कुरा गरेको बताउदै उनको अवस्था थाहा नभएको मात्र जवाफ प्राप्त भएकाले उनी सकुशल छन भन्ने आशा गरिएको बताइन । प्रदेश सरकारको पहलमा आगामी असोज १ र २ गते गर्न लागिएको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा मंगलबार धनगढी आएकी हुन् ।
पूर्व तयारी सम्मेलन मंगलबार देखि सुरु भएको छ । प्रदेशको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, आर्थिक विकासको सम्भावना उजागर गरी रुपान्तरणकारी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलन मार्फत उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटन लगायतका क्षेत्रहरूमा लगानी प्रवर्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ।


