जेठ ०३ बछाम । अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) को अधिवेशन सम्पन्न भएको छ । चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्वमा पालिका कमिटी चयन गरी अधिवेशन सम्पन्न भएकोे हो ।
मङ्गलसेन नगरपालिकामा डम्बर बहादुर रावलको नेतृत्वमा ४७ सदस्यीय, साँफेबगर नगरपालिकामा हिरण्ड बहादुर कुँवरको नेतृत्वमा ४१ सदस्यीय र बान्नीगढी जयगढ गाउँपालिकामा हर्क साउदको नेतृत्वमा कमिटी चयन गरिएको बताईएको छ । त्यसैगरी तुर्माखाँद गाउँपालिकामा पदम बहादुर बिसीको नेतृत्वमा ४७ सदस्यीय, चौरपाटी गाउँपालिकामा झङ्कर बहादुर साउदको नेतृत्वमा ३५ सदस्यीय पालिका कमिटी चयन गरिएको छ ।
त्यस्तै पञ्चदेवल विनायकमा गोरखबहादुर रावलको अध्यक्षतामा ३५ सदस्यीय र कमलबजार नगरपालिकामा कम्मानसिंह चलाउनेको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । ढकारी गाउँपालिकामा महादेव बुढाको अध्यक्षतामा ३६ सदस्यीय र रामारोशन गाउँपालिकामा भिष्म साउदको अध्यक्षतामा पालिका कमिटी चयन गरिएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले जानकारी गराए ।
मेल्लेख गाउँपालिकामा सुरेन्द्र साउदको नेतृत्वमा ३१ सदस्यीय पालिका कमिटी अघिल्लो वर्ष निर्वाचित भइसकेको उनले जानकारी गराए । दस वटै स्थानीय तहमा सर्वसम्मत रूपमा कमिटी चयन गरेर अधिवेशन सम्पन्न भएको उनले जानकारी गराए । एमाले अछामले वैशाख मसान्त भित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्ययोजना अनुसार पालिका र वडा तहका अधिवेशन सम्पन्न गरिएको उनले बताए ।
पालिका अधिवेशन सम्पन्न गर्नका लागि एमाले केन्द्रीय सदस्य क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना र क्षेत्र नम्बर २ का यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र अछामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटीका अध्यक्ष शिवप्रसाद उपाध्याय सहित जिल्ला सदस्य खटिएको उनले जानकारी गराए ।


