चैत्र ११ कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सांसदहरूको एक टोलीले भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग अनौपचारिक भेटवार्ता गरेको छ । उक्त भेटमा नेपाल–भारत सिमानामा सर्वसाधारणले भोगिरहेका समस्याहरूबारे छलफल भएको बताइएको छ ।
प्रदेश सभा सदस्यहरू दिवानसिंह बिष्ट, प्रकाश रावल, विक्रम सिंह धामी, मधु भारती, र जानकी कुँवर सहितको टोलीले देहरादूनस्थित मुख्यमन्त्री कार्यालयमै पुगेर समस्या समाधानका उपायहरूबारे विचार विमर्श गरेका हुन ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टका अनुसार, बनबसा र टनकपुर पुल हुँदै नेपाल–भारत आवागमनलाई सहज बनाउनका लागि आवश्यक उपायहरूबारे छलफल भएको थियो ।
सांसदहरूले सिमानामा देखिएका समस्याहरू समाधानका लागि नेपाल–भारतबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
मुख्यमन्त्री धामीले नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन सकारात्मक प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उक्त समस्याहरू भारत सरकार र प्रधानमन्त्री समक्ष पुर्याउने बताए ।
नेपाली सांसदहरूको टोली कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला तथा पर्यटन महोत्सवमा भाग लिन देहरादून पुगेको थियो । जसले दुई देशबीचको व्यापार र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।