कार्तिक ०५ लार्चुला । दार्चुलामा भन्सार छलीगरी ल्याएका सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले २ वटा पसलका गोदाममा छापा हान्दा २ लाख ८४ हजार ४ सय ७६ रुपैयाँ बराबरको अवैध भन्सार छलीको सामान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महाकाली नगरपालिका वडा नम्बर–४ मल्ला बाङ्गाबगड स्थित बिर बहादुर बोहराले सञ्ंचालन गरेको बीएम जनरल स्टोरको गोदाममा छापा हान्दा भन्सार छलीको २ लाख ३७ हजार ६ रुपैयाँ बराबरको चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको छ ।
त्यसैगरी नौगाड गाउँपालिका वडा नम्बर–२ घर भई हाल महाकाली नगरपालिका वडा नम्बर–४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संञ्चालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट छापा हान्दा ४७ हजार ४ सय ७० रुपैयाँ बराबरको आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामानहरु बरामद गरिएको उनले जानकारी गराए । उनले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएका छन ।


