असोज २८ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ। क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा व्यवस्थापन पछि तौलाहा तालमा साँझपख आन्तरिक पर्यटक भरिन थालेका हुन।
अरू बेला दुईतीन सय व्यक्ति घुम्न आउने गरेकोमा दसैँको टीकाको दिन हजार भन्दा बढीले तौलाहा तालको भ्रमण गरेको ताल क्षेत्रमा पर्यटन गतिविधि सञ्चालनका लागि ठेक्का पाएका धनगढी गाउँका अविनाश चौधरीले बताए ।
तौलाहा तालमा पर्यटनलाई लक्षित गरी दुई करोड ३४ लाख रुपियाँ खर्चेर ताल परिसर व्यवस्थापन र सौन्दर्यकरण गर्ने कार्य भएको थियो । ताल क्षेत्रको व्यवस्थापन पछि पर्यटन क्रियाकलाप र रेस्टुरेन्ट सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले चौधरीलाई ठेक्का दिएको छ । मासिक ४० हजार रुपियाँ तिर्ने गरी ठेक्का पाएको उनले जानबारी दिए ।
ताल क्षेत्रमा प्रवेश गर्नका लागि प्रति व्यक्ति १० रुपियाँ टिकट निर्धारण गरिएको छ । बच्चालाई भने निःशुल्क प्रवेश दिने गरिएको छ। टिकटबाटै दैनिक तीन हजार देखि १० हजार सम्म रुपियाँ उठ्ने गरेको चा्रधरीले बताए । झिलिमिली बत्तीले सिङारिएको ताल साँझपख रमणीय द्खिने गरेको छ ।
ताल क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकका कारण आसपासमा व्यापारसमेत फस्टाएको छ। ताल परिसरमा प्रवेशका लागि बेलुकामात्रै शुल्क लिइने गरेको जनाइएको छ।
अन्य समयमा अवलोकनकर्ताहरूले निःशुल्क प्रवेश पाउने गरेको सञ्चालक चौधरीले जानकारी गराए । तौलाहामा सोही तालमै पालेको माछाका परिकार खान पाउने देखि लिएर थारु समुदायको परम्परागत काठे पिङ्ग हिरोल्ना खेल्ने व्यवस्था गरिएको छ ।


