असोज ११ धनगढी । सुदूरपश्चिम प्रदेशभित्र आठवटा सुपथ मूल्य पसल खुलेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले सुदूरपश्चिममा आठवटा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । सोमबार देखि सुपथ मुल्य पसलबाट दैनिक उपभोग्य सामान विक्रीवितरण गर्ने गरी पसल सञ्चालनमा ल्याइएको हो ।
कैलालीको धनगढी, अत्तरिया र टीकापुरमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगर र वेलौरीमा पनि पसल खोलिएको छ । पहाडी जिल्ला डडेल्धुरा, बैतडीको पाटन र डोटीको दीपायलमा पनि सुपथ मूल्य पसल खोलिसकेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख वासुदेव उपाध्यायले बताए ।
असोज ७ देखि कात्तिक २२ गतेसम्म सुपथ मुल्य पसल सञ्चालन हुने उनले जानकारी गराए । धनगढी र अत्तरियामा खोलिएका सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो एक सय २ रुपैयाँ ५० पैसामा पाइने छ । दीपायल र पाटनमा भने प्रतिकिलो एक सय १०, डडेल्धुरामा एक सय ५, महेन्द्रनगरमा एक सय ४ र टीकापुरमा एक सय ५ रुपैयाँ पर्ने बताइृएको छ ।
सुपथ मुल्य पसलबाट चिनी प्रतिव्यक्ति २ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ । त्यस्तै नुन प्रतिकिलो २४ रुपैयाँ तोकिएको छ । नुन प्रतिव्यक्ति ६ किलो उपलब्ध गराउने गरी व्यवस्था गरिएको छ ।
सुपथ मूल्य पसलहरुमा च्युरा, खाने तेल, दाल, पिँठो, मैदा पनि प्रतिव्यक्ति ५ किलो उपलब्ध गराउने र ७ रुपैयाँ छुट दिने साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका प्रमुख उपाध्यायले बताए ।
सुपथ मूल्य पसलमा चामल समेत राखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीसँग पाँच सय बोरा अर्थात २ सय ५० क्वीन्टल चिनी छ । पहाडी जिल्लामा समान ८०्÷८० बोरा चिनी ढुवानी गरि सकिएको प्रमुख उपाध्यायले बताए ।


