माघ ११ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेलामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि संघिय मन्त्रीपरिषद्ले रुख कटानीको अनुमती दिएको छ । राष्ट्रिय वन क्षेत्रको २२ हेक्टर क्षेत्रफलमा रहेका २ हजार ६ सय ३ रुख कटानीका लागी संघिय मन्त्रीपरिषद्ले अनुमति दिएको हो ।
२०७९ पुस १४ गते एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थ प्रशोधन प्रणाली आयोजना निर्माणका लागी क्षेत्रीय सहरी विकास आयोजनाले ठेक्का आब्हान गरेको भए पनि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानीको आदेश नभएकाले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम रोकिएको थियो । राष्ट्रिय वन क्षेत्रको २२ हेक्टर क्षेत्रफलमा रहेका २ हजार ६ सय ३ रुख कटानीको अनुमती आएपछि फोहोर मैला व्यवस्थापनको काम अगाडी बढ्ने भएको छ ।
धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले पटेलामा २२ हेक्टर जमिनमा रहेका २ हजार ६ सय ३ रुख कटानीको अनुमती आएको बताउदै फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढ्ने बताए । ५० वर्षका लागि फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने बताउदै उनले फोहोरको आधुनिक रूपमा व्यवस्थापन हुने बताए ।
एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार वटा स्थानीय तहमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएका छन । क्षेत्रीय सहरी विकास कार्यालय मार्फत धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालीका, सुक्लाफाँटा नगरपालीका र भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ऋण माग गरिएको जानकारी गराईएको छ ।
क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ अनुसार ९६ करोडको लागतमा फोहोरमैला व्यवस्थापन केन्द्रको स्थापना गरिने जानकारी गराएको हो ।


