पौष ०१ धनगढी । सुदूरपश्चिम प्रदेशमा राजस्व संकलन आधा घटेको छ । अघिल्ला आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएको भए पनि चालु आर्थिक वर्षमा राजस्व संकलन आधा घटेको हो ।
आन्तरिक राजस्व कार्यालय धनगढीको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो चौमासिकमा एक अर्ब सात करोड ३४ लाख ९० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ५९ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ को सोही अवधिमा एक अर्ब ३६ करोड २१ लाख ७५ हजार संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ५२ करोड ६६ लाख २१ हजार रुपैयाँ राजश्व संंकलन गरिएको थियो । आर्थिक वर्ष २०७७÷०७८ को साउन देखि कात्तिक सम्म एक अर्ब ४० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा एक अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएकोमा चालु आर्थिक वर्षमा राजस्व संकलन दर आधा घटेको हो । आन्तरिक राजस्व कार्यालय धनगढीका कर अधिकृत तथा सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले बजारमा आर्थिक गतिविधि घट्नु, आर्थिक मन्दी हुनु र उद्योगहरु अन्यत्र सर्नु लगायतका कारणले राजस्व संकलन दर घटेको बताएका छन । उनले उद्योग अन्तै सरेकाले अन्तः शुल्क असुली अत्यन्त न्युन भएको बताउदै अन्तः शुल्क असुलीको लक्ष्य पुनरावलोकन नहुँदा पनि राजस्व संकलन दर घटेको जानकारी गराए । चालुआर्थिक बर्षमा ४१ करोड ४३ लाख ९४ हजार अन्तः शुल्क असुल गर्ने लक्ष्य रहेको भएपनि छ करोड २८ लाख सात हजार रुपैयाँ मात्रै असुल भएको छ ।
गत आर्थिक बर्षमा ६७ करोड ५७ लाख ८० हजार अन्तः शुल्क असुल गर्ने लक्ष्य लिएकोमा ८० करोड ३२ लाख ४३ हजार रुपैयाँ असुल भएको थियो । आर्थिक बर्ष २०७७÷०७८ को यही अवधिमा ५९ करोड ६० लाख चार हजार अन्त शुल्क असुल गर्ने लक्ष्य राखिएकोमा ७२ करोड ६६ लाख ७६ हजार राजश्व संकलन भएको थियो । त्यसैगरी, स्वास्थ्य सेवा कर असुलीमा पनि कमी आएको छ । चाल् आर्थिक बर्षमा एक करोड ८३ लाख ३८ हजार र।ाजश्व संकलन गर्ने लक्ष्य रहेकोमा चार लाख ४० हजार रुपैयाँ मात्रै असुल भएको छ । आर्थिक बर्षको साउन देखि कात्तिकसम्म ३५ करोड २१ लाख ८४ लाख मूल्य अभिवृद्धि कर असुल
गर्ने लक्ष्य रहेकोमा २३ करोड ८२ लाख ३७ हजार रुपैयाँ मात्रै संकलन भएको छ ।
गतवर्ष ४२ करोड ३३ लाख ३७ हजार असुल गर्ने लक्ष्य रहेकोमा ३० करोड २४ लाख ६३ हजार असुल भएको थियो । त्यसैगरी आयकर असुल लगभग लक्ष्यको नजिक रहेको छ । २६ करोड ६७ लाख ९३ हजार आयकर असुल गर्ने लक्ष्य राखिएकोमा २६ करोड ४८ लाख २९ हजार रुपैयाँ असुल भएको छ । गतवर्ष २१ करोड ९६ लाख ४५ हजार आयकर असुल गर्ने लक्ष्य रहेको भएपनि यही अवधिमा ३५ करोड ८२ लाख ८३ हजार रुपैयाँ असुल भएको थियो ।
त्यसैगरी घर बहाल कर र व्याज कर असुली पनि सुधार हुँदै गएको बताईएको छ । चालु आर्थिक वर्ष ९६ लाख ७७ हजार असुल गर्ने लक्ष्य रहे पनि ७० लाख पाँच हजार संबलन भएको छ । गतवर्ष एक करोड २६ लाख ६३ हजार असुल गर्ने लक्ष्य रहेकोमा एक करोड २६ लाख ६३ हजार र ०७७÷०७८ मा पाँच करोड ४७ लाख ९८ हजार असुल गर्ने लक्ष्य रहेकोमा दुई करोड ४७ लाख १९ हजार रुपैयाँ असुल भएको थियो । घर बहाल कर उठाउने जिम्मेबारी स्थानीय तहमा सरेको भए पनि बक्यौता रहेको घर बहाल कर आन्तरिक राजस्व कार्यालयले असुल गर्दै आएको बताईएको छ ।
त्यसैगरी यस वर्ष एक करोड २१ लाख ८८ हजार ब्याज कर असुल गर्ने लक्ष्य रहेकोमा एक करोड ७२ लाख ९५ हजार असुल भएको छ भने गत वर्ष दुई करोड नौ लाख ७० हजार असुल गर्ने लक्ष्य रहेकोमा ५३ लाख ७६ हजार मात्रै असुल भएको थियो । यस वर्ष शिक्षा सेवा कर असुलीमा पनि सुधार आएको छ । छ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा आठ हजार रुपैयाँ असुल भएको छ । ०७७÷०७८ मा २८ लाख ११ हजार असुल गर्ने लक्ष्य रहेकोमा २७ हजार मात्रै असुल भएको थियो ।
सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्रध्यापक राजेन्द्रविर चन्दले पनि आर्थिक क्रियाकलाप नभएकाले राजस्व असुलीमा ह्रास आएको बताएका छन । उनले व्यापार व्यवसाय घटेको, उद्योग व्यापारमा बैंकको लगानी घटेको, उद्योग, पर्यटन र घरजग्गा कारोबारमा मन्दी रहेको तथा निर्वाचन केन्द्रित सरकारी बजेट लगायतका कारण राजस्वमा असर परेको बताए ।


