कार्तिक २२ बझाङ । बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा विप्लव नेतृत्वको नेकपा तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम चैनपु्र अदालतनजिक आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौं। आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम गरिएको भोलीपल्ट एमसिसिका मतियारलाई मतदान नगरौं लगायतका पोष्टर बजारमा टाँसिरहेको अबश्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पटक पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटन देखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाती सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ।
एमसीसीका मतियारहरुलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले राँके जुलुस निकालेको बताएको छ।
देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरुलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाले जनाएको छ। पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि वडा प्रहरी कार्यालयमा राखिएको र गृह मन्त्रालयको आदेश अनुसार प्रक्रिया अगाडि बढाइने वडा प्रहरी कार्यालय चैनपुरले जनाएको छ।


