डडेल्धुरा,३ फागुन । डडेल्धुरामा कुटपिट गरी युवकको हत्या गरिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।डोटीको दिपायल सिलगढी नगरपालिका– ३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ का २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका–८ बस्ने अन्दाजी १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर बिक रहको डीएसपी देवेन्द्रबहादुर पालले जानकारी दिए ।
आइतबार राति मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।मदिरा सेवनपछि आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट गरेर उनीहरुले राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर उनलाई घाइते अवस्थामा आलीताल गाउँपालिका(४ मा फालेका थिए ।
स्थानीयले सिजापति घाइते अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई जोगबुढा अस्पताल पुर्याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको थियो । पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


