"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बेइजिङ ओलम्पिक र शक्तिराष्ट्रहरूको वक्रखेल

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

बुद्धिप्रसाद शर्मा
ओलम्पिकले चीनको नरम शक्तिलाई थप बलियो बनाउने हो कि भन्ने चिन्ता अमेरिकीहरूमा देखिन्छ ।
फरवरी ४ मा सुरु हुन लागेको बेइजिङ ओलम्पिकको तयारी पूरा भइसकेको चिनियाँ अधिकारीहरूले बताए पनि यस पटकको ओलम्पिकसमेत त्यति सहज नरहेको स्पष्ट देख्न सकिन्छ । कोभिड महामारी, विश्व शक्तिराष्ट्रहरूबीच नयाँ खटपट र चीनकेन्द्रित अमेरिकाको नयाँ घेराबन्दी लगायतको असर बेइजिङ ओलम्पिकमा देखिइसकेको छ । कोभिडको असरले ओलम्पिक खेलकुदको स्वाद दर्शकहरूले खेलक्षेत्रमै पुगेर लिन नपाउने भएका छन ।
विश्वसमुदायलाई विश्वास र भ्रातृत्वले जोड्न सहयोग पु¥याउने खेलकुद उत्सवलाई केही पश्चिमा शक्तिहरूले भूराजनीतिक र भूरणनीतिक हिसाबले हेरिदिँदा कतै ओलम्पिक विश्व शक्तिराष्ट्रहरूबीच थप द्वन्द्व बढाउने माध्यम त बन्दैन भन्ने चिन्ता विश्वसमुदायले गर्न थालेको छ । बेइजिङ ओलम्पिक १९ दिनसम्म चल्नेछ । यस वर्षको पाराओलम्पिक पनि मार्च ४ देखि १३ तारिखसम्म बेइजिङमै हुनेछ । करिब छ वर्षको तयारीपछि हुन लागेको, ‘साझा भविष्यका लागि सँगै’ नारा बोकेको बेइजिङ ओलम्पिकलाई एकदमै व्यवस्थित, सुरक्षित र उत्कृष्ट बनाइने चिनियाँ राष्ट्रपति सी चिनफिङले गत हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष टमस बाचसँथको भेटमा बताएका छन्रु। ओलम्पिक नजिकिँदै गर्दा गत महिनादेखि चीनका विभिन्न सहरमा कोभिडका नयाँ केसहरू देखिएका छन्रु। कतिपय सहरमा अझै लकडाउन पनि गरिएको छ ।
कोभिडका केही केस बेइजिङमा पनि देखिएसँगै थप सतर्कता अपनाइएको चिनियाँ अधिकारीहरूले बताएका छन । चीनको शून्य–कोभिड रणनीतिले गर्दा पनि एउटा मात्रै केस देखिनेबित्तिकै उनीहरू उच्चतम स्वास्थ्य सतर्कता अपनाएर त्यसलाई निर्मूल पार्नतिर लाग्छन । चीनमा कोभिड नियन्त्रणमा उच्च प्रविधिको प्रयोगले पनि विश्वको ध्यान आकर्षित गरेको छ । व्यापक आधुनिक स्वास्थ्य पूर्वाधारका साथै उच्च प्रविधिको प्रयोगले कोभिड केसहरूविरुद्ध लड्न सहज बनाएकाले चिनियाँ अधिकारीहरूमा ओलम्पिक खेलकुद शानदार रूपमै सम्पन्न गर्न सकिन्छ भन्ने आत्मविश्वास जागेको हो । विभिन्न मुद्दाको बहाना बनाएर सुरुमा ओलम्पिक पूरै बहिष्कार गर्ने प्रचारबाजी गरेको अमेरिकाले चीनको तयारी र कोभिड नियन्त्रणमा सामर्थ्यका अगाडि बाह्य दबाब थेग्न सकेन र निर्णय परिवर्तन ग¥यो, भलै पूरै लचकताचाहिँ अपनाएको छैन ।
बेइजिङ र नजिकैको सहर थियान्चिनमा कोभिडका केही नयाँ केसहरू देखिएपछि दुई हप्तायता हेल्थ प्रोटोकलको कार्यान्वयनमा केही कडाइ गरिएको छ । कोभिड महामारीको बढ्दो त्रासलाई मध्यनजर गरेर यस ओलम्पिकका सबै गतिविधिलाई सुरक्षित बन्द लुप प्रणालीभित्र व्यवस्थापन गरिराखिएको छ, जसबाट खेलाडीसहित सम्बन्धित सबै व्यक्तिलाई पूर्ण सुरक्षासहित सेवासुविधाको सहज बन्दोबस्त गरिएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका
छन । बन्द लुप प्रणालीभित्र प्रतिस्पर्धा गर्ने क्षेत्र, व्यापारिक सेन्टर, ओलम्पिक भिलेज तथा होटलहरू, ओलम्पिक उद्घाटन तथा समापन समारोह लगायतका गतिविधिहरू छन्, जसलाई ओलम्पिक प्रयोजनका लागि व्यवस्था गरिएको विशेष यातायात सुविधाले थप व्यवस्थित गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन । बन्द लुप प्रणाली निर्माणको उद्देश्य ओलम्पिक स्थल र सम्बन्धित व्यक्तिहरूलाई अन्य व्यक्तिबाट भिन्न राख्नुका साथै कोभिड महामारीको असरलाई चिर्दै विविध चुनौतीका बावजुद यस ओलम्पिकलाई अत्यन्त सफल र भव्य रूपमा सम्पन्न गर्नु रहेको बुझ्न सकिन्छ ।
यस पटकको ओलम्पिकमा रुसले खेलाडीहरूसहित सबैभन्दा धेरै व्यक्ति चीन पठाएको छ । पछिल्लो चरण ताइवान मुद्दामा चीनसँग सम्बन्ध चिसिएको लिथुवानियाले समेत ठूलो संख्याको प्रतिनिधिमण्डल पठाएको
छ । अमेरिकाले मानव अधिकार लगायतका असम्बन्धित मुद्दाहरूलाई उचालेर बेइजिङ ओलम्पिकविरुद्ध अभियानै चलाएको थियो । कूटनीतिक बहिष्कार गर्नुपर्छ भनेर अमेरिकी अधिकारी, विज्ञ, सञ्चारमाध्यम लगायतले एकोहोरो प्रोपगान्डा गरेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एकातिर बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गर्नुपर्ने देशभित्रको दबाब र अर्कातिर ओलम्पिकलाई देखाएर प्रतिद्वन्द्विता बढाउनु हुँदैन भन्ने विश्वसमुदायको दबाबलाई ध्यानमा राख्दै खेलाडीहरू सहभागी हुने तर उच्च सरकारी अधिकारीहरू नपठाउने निर्णय गरेरु। तर पनि बाइडेनको निर्णय अपरिपक्व भएको र यो ओलम्पिकको मान्यताविपरीत भएको अनि यसले अमेरिका–चीन तनावलाई थप बढाउने भन्दै आलोचना भइरहेको छ । ओलम्पिक खेलबारे विश्वव्यापी ध्यान आकृष्ट हुने भएकाले पनि अमेरिकासहितका केही पश्चिमा देशहरू मानव अधिकारको विषय उचालेर चीनविरुद्ध प्रोपगान्डामा उत्रिएको बुझ्न सकिन्छ । तर अबको विश्वमा अमेरिकाले मानव अधिकारको पाठ अरूलाई पढाउने नैतिकता नराख्ने अन्तर्राष्ट्रिय कानुनका जानकारहरू बताउँछन ।
ओलम्पिक आयोजकमा प्रतियोगिताबाट धेरै मेडल जित्नेभन्दा पनि यसलाई व्यवस्थित किसिमले सम्पन्न गर्ने चुनौती बढी हुन्छ । त्यसमाथि कोभिड महामारीबाट अझै विश्वसमुदाय आक्रान्त भइरहेकाले सुरक्षित किसिमबाट खेल सम्पन्न गर्नु निकै मुस्किल काम पनि हो । सन् २००८ को बेइजिङ ओलम्पिकपश्चात् चीनले नीतिगत रूपबाटै खेलकुद क्षेत्रका लागि पूर्वाधार एवं खेलाडीहरूको क्षमता विकासमा धेरै खर्च गरेको छ । यसले गर्दा विश्वकै ठूलो जनसंख्या चीनको प्रदर्शन ओलम्पिक खेलहरूमा गतिलो हुँदै आएको छ ।
चीनले सन् २००८ को बेइजिङ ओलम्पिकका लागि ४३ अर्ब डलर खर्च गरेको थियो तर यसपालि जम्मा ४ अर्ब डलर छुट्याएको छ । यसको खास कारणचाहिँ खेलकुद उद्योगका लागि पहिलेदेखि नै विविध सरकारी तथा निजी लगानी भइरहनु हो । यस ओलम्पिकका लागि चीनले विनियोजन गरेको बजेट दक्षिण कोरियाले सन् २०१८ को ओलम्पिकका लागि गरेको खर्च (१४ अर्ब डलर) भन्दा पनि कम हो । चीनले देशभित्रको खेलकुद उद्योगलाई सन् २०२५ सम्म ७७३ अर्ब डलरको बनाउने लक्ष्य लिएको छ ।
यो लगानीले उल्लेख्य रोजगारी सृजना हुनुका साथ कम्पनीहरूलाई नयाँनयाँ उपकरण निर्माणमा पनि प्रेरित गरेको छ । प्रत्येक समुदायमा जिम गर्ने उपकरणहरूको बन्दोबस्त गर्न चिनियाँ खेलकुद अधिकारीहरूले सुझाव दिएका छन्रु। सन् २०२५ भित्र करिब ३० लाख फिटनेस प्रशिक्षकहरू तयार गर्ने अपेक्षा पनि उनीहरूको छरु। खेलकुद उद्योगको विकास लक्ष्य अनुसार हुन सके सन् २०२५ भित्र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३ दशमलव ३ प्रतिशत योगदान गर्ने चिनियाँ अधिकारीहरूको दाबी छ ।
ओलम्पिक खेलकुदका लागि बनाइएका तीनवटै ओलम्पिक भिलेजमा निजी क्षेत्रको लगानी परेको र ओलम्पिक सम्पन्न भएपछि व्यापारिक प्रयोजनका लागि तिनलाई बिक्री गरिने चिनियाँ खेलकुद अधिकारी चाउ सिनले बताएका छन । चीनले ओलम्पिक खेलकै सन्दर्भमा देशभरि खेलकुद उद्योग फस्टाऊन् र निजी कम्पनीहरूबाट धेरै लगानी आओस् भनेर विशेष कर छुट लगायतका सुविधाहरूको व्यवस्था गरिदिएको थियो । त्यो नीति सफल पनि देखियो । खेलकुद उद्योगले यतिखेर चिनियाँ जीडीपीमा राम्रो योगदान गर्न थालिसकेको छ भने खेलाडीहरूको प्रदर्शन निकै राम्रो हुनुका साथै देशभरिबाट उदीयमान खेलाडीहरू भित्रिएका छन । चिनियाँ खेलकुद सामग्रीहरूले केही वर्षयता विश्वबजारमा पकड जमाउन थालिसकेका छन ।
चिनियाँ अधिकारीहरूका अनुसार, ओलम्पिक आयोजना प्रयोजनका लागि जनताको करको दुरुपयोग नहोस् भन्ने हेतुले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिनुका साथै उनीहरूको लगानी सुरक्षित हुने किसिमले पनि सरकारले सम्बोधन गरिदिएको छ । यस्तै कारणहरूले गर्दा पनि यस ओलम्पिकमा चिनियाँ सरकारका तर्फबाट गरिएको खास खर्च कम देखिएको हो । चीनले सन् १९७८ यता सुधार तथा खुलापनको नीति अगाडि बढाएपश्चात् हासिल गरेको विश्वले महसुस गर्न सक्ने समृद्धि मानव इतिहासकै लागि उदाहरणीय बनेको
छ । चीनको यो प्रगति आर्थिक क्षेत्रमा मात्र सीमित नभई हर आयाममा प्रकट भएको छ । चीनको प्रगतिलाई अमेरिकाले केवल अर्को देशको व्यापक विकासका रूपमा नलिई भिन्न विचारधारा, पद्धति र सभ्यताकै उपलब्धि महसुस गरी आफ्नो विश्वव्यापी प्रभाव र उपस्थितिमाथिको प्रभावशाली चुनौतीका रूपमा लिएको छ ।
यसबाट पनि स्पष्ट बुझ्न सकिन्छ, चीनले पछिल्ला केही ओलम्पिकमा हासिल गरेको उपलब्धिलाई अमेरिकाले आफ्नो प्रतिष्ठामा एक किसिमको धक्काकै रूपमा महसुस गर्न थालेको छरु। साथै तयारी तथा व्यवस्थापनका दृष्टिले चीनले विश्वसमुदायमाझ प्रस्तुत गर्ने ओलम्पिक ओजलाई अमेरिकाले सहज रूपमा पक्कै
लिनेछैन । जसरी सन् २००८ को बेइजिङ ओलम्पिकले आधुनिक चीनलाई विश्वमाझ दरिलो रूपमा उपस्थित गराउन योगदान गरेको थियो, त्यसरी नै यस ओलम्पिकबाट विश्वमाझ चिनियाँ समृद्धिका सकारात्मक कथाहरू प्रवाहित हुने, चीन र विश्वसमुदायबीचको सम्बन्ध थप प्रगाढ हुन सक्ने र चीनप्रतिको धारणा विश्वमाझ थप सकारात्मक हुँदै जान सक्ने चिन्ता अमेरिकालाई छ । अर्थात्, ओलम्पिकले चीनको नरम शक्तिलाई थप बलियो बनाउने हो कि भन्ने चिन्ता अमेरिकीहरूमा देखिन्छ ।
अमेरिकी सिनेटरहरू मार्को रुबियो, जेम्स लान्कफोर्ड लगायतले यसपालिको ओलम्पिकलाई अर्को मुलुकमा स्थानान्तरण गर्नका लागि जोडदार आवाज उठाउँदै आएका थिएरु। यो पंक्तिमा अमेरिकाका अरू थुप्रै राजनीतिज्ञ, चीन मामिलाका विज्ञ, पत्रकारहरूसमेत थिए । यो त्यही समूह हो जो चीन मामिलामा अमेरिका कडा रूपमा उपस्थित हुनुपर्ने तर्क गर्छ; कोभिडको उद्भव, मानव अधिकार, हङकङ, सिनचियाङ लगायतका मुद्दाहरू उठाएर चीनविरुद्ध कठोर रूपमा उपस्थित भइरहन्छ, विभिन्न माध्यममार्फत । खासमा अनेकौं तनाव तथा भिन्नताका बावजुद अमेरिका–चीन सम्बन्ध अमेरिका–रुसजस्तो निकै खराब भइसकेको पनि होइन । भिन्नताका बावजुद अमेरिका र चीनबीच विविध सहकार्य र आदानप्रदान सघन रूपमा भइरहेको छ । भिन्नता र तनावबीच पनि जरुरी सहकार्यको स्थितिले अमेरिकाले चीनलाई नजिक बनाइराखेको मात्रै होइन, स्थितिलाई भड्किनबाट रोकिराखेको पनि छ । यो यथार्थमाझ अमेरिकाले यस ओलम्पिकलाई लिएर शीतयुद्धताकाको जस्तो व्यवहार प्रदर्शन गर्नु कूटनीतिक रूपमा निकै अपरिपक्व कदम भएको भन्दै अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूको एउटा तप्काले आलोचना पनि गर्दै आएको थियो । विभिन्न किसिमबाट आएका दबाबलाई थेग्न नसकेका राष्ट्रपति बाइडेनले खेलाडीहरू उपस्थित हुने तर उच्च अधिकारीहरू सहभागी नहुने भनी नरम बहिष्कारको बाटो लिए । नरम बहिष्कार देखिए पनि तीन दर्जनभन्दा बढी अमेरिकी अधिकारीहरूले सहभागी हुनका लागि भिसा निवेदन दिएको र त्यसलाई स्वीकृत गरिनुका साथै अधिकांश बेइजिङ आइसकेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका
छन ।
‘द वर्ल्ड एकोर्डिङ टु चाइना’ की लेखिका एलिजाबेथ इकोनोमी — जो हाल अमेरिकी वाणिज्य सचिवकी चीन मामिला सल्लाहकार पनि हुन् — विश्व व्यवस्थालाई हेर्ने सन्दर्भमा पछिल्लो पटक अमेरिका–चीनबीच बढ्दो तनावको असर धेरै क्षेत्रमा देखिनु स्वाभाविक भएको दाबी गर्छिन । लामो समयदेखि बेइजिङमा रहेका बीबीसी संवाददाता स्टेफेन म्याकडोनलका भनाइमा, सन् २००८ मा पनि चिनियाँ नेतृत्वले प्राकृतिक, राजनीतिक लगायतका विविध घरेलु चुनौतीको सामना गर्दै ओलम्पिक भव्य रूपमा सम्पन्न गरेको थियो ।
यसपालिको ओलम्पिक पनि अप्ठ्यारो अवस्थामाझ हुन लागेको भए पनि चिनियाँ नेतृत्वले यसलाई सबल रूपमा सम्पन्न गर्ने उनको टिप्पणी
छ । बेइजिङ ओलम्पिकविरुद्ध पश्चिमा मिडियाको रवैया कस्तोसम्म छ भने, यो खेलकुद महाकुम्भबारे सामान्य सूचनामूलक भिडियोहरू टिकटक, इन्स्टाग्राम, ट्वीटर लगायतबाट के प्रवाह हुन थालेका थिए, बेइजिङले प्रोपगान्डाका लागि पैसा दिएर भाडाका मानिसहरू परिचालन ग¥यो भनेर स्यालहुइँया गर्न थालिहाले । बेइजिङ ओलम्पिकप्रति अमेरिकापछि बेलायत, अस्ट्रेलिया तथा क्यानाडाका मिडिया तथा विज्ञहरू बढ्ता नकारात्मक देखिन्छन । उनीहरू यस ओलम्पिकबाट चीनको ओज विश्वमाझ थप सबल नदेखियोस् भन्ने चाहन्छन ।
शीतयुद्धको समयमा अमेरिकाले सन् १९८० को मस्को समर ओलम्पिक बहिष्कार गरेको थियो भने त्यसको प्रतिकारमा सोभियत युनियनले सन् १९८४ को लस एन्जलस समर खेल । बहिष्कारका अन्य उदाहरण पनि छन । तर अहिले विश्व परिदृश्य पुनः तनावतर्फ धकेलिँदै गर्दा वातावरण सौहार्दपूर्ण बनाउन सक्ने ओलम्पिक खेलकुदको स्पिरिटलाई कमजोर हुन दिन नहुने विश्वसमुदायको मत छ । बेइजिङ ओलम्पिकलाई चिनियाँ नयाँ वर्षको रौनकले पनि थप रोमाञ्चित बनाउनेछ । तर पनि कोभिड महामारीका केही नयाँ केसले गर्दा चिनियाँ जनतालाई सावधानी अपनाएर नयाँ वर्ष मनाउन चिनियाँ अधिकारीहरूले आग्रह गरेका छन ।
आईओसीका अध्यक्ष बाचले ओलम्पिक तयारीमा चिनियाँ अधिकारीहरूको मिहिनेतको प्रशंसा गर्दै यो ओलम्पिक अत्यन्त सफल र भव्य रूपमा सम्पन्न गर्न सकिने आत्मविश्वास जागेको बताएका छन । ओलम्पिक स्पिरिटले विश्वसमुदायमाझ आपसी विश्वास, भ्रातृत्व, सहकार्य र आदानप्रदानलाई सघन बनाउने हुँदा कुत्सित रणनीतिक लाभका लागि कसैले पनि यसको दुरुपयोग गर्नु हुँदैन । विश्वले अमेरिका, चीनजस्ता महाशक्ति हमराष्ट्रहरूबीचको सहकार्यबाटै लाभ लिन सक्ने भएकाले तनाव कम गर्ने र विश्वास तथा सहकार्य बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । शीतयुद्धकालीन मानसिकता त्यागेर यस ओलम्पिकलाई सफल बनाउँदा नै विश्वसमुदायले बढ्ता लाभ लिन्छ, थप विश्वास र सहकार्य आर्जन गर्दै । शर्मा चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स–हिमालय स्टडिजका सिनियर रिसर्च फेलो हुन ।
कान्तिपुरबाट

भर्खरै

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख
जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु, १४ जना घाइते

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित

bbbf7afb-3040-48aa-a4bb-97e127ead37c

सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र