बैशाख २० बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–३ स्थित श्रीकोट स्वास्थ्य चौकीमा महिलाहरुका लागि अयोजीत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्लोबल आइएमइ बैंकको स्वस्थ नारी पहल कार्यक्रम अन्तर्गत दोगडाकेदार गाउँपालिकाको समन्वयमा आयोजना गरिएको प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरको प्राविधिक सहयोग रहेको उक्त शिविरमा पाठेघर खसेको महिलाहरुको परीक्षण तथा रिङ पेसरी सेवा, फिस्टुला परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, यौनजन्य रोगको संक्रमण परीक्षण,उपचार सेवा र औषधी वितरण गरिएको नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरका बरिष्ठ शाखा प्रबन्धक वासुदेव बिष्टले जानकारी गराए ।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई उनीहरुकै ठाउँमा प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले ग्लोबल आइएमइ बैंकसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको बिष्टले बताए । शिविरमा स्थानीय महिलाहरुले सेवा लिएका् बताउदै उनले शिविरमा १ सय ४० जनाले सेवा लिएको जानकारी गराए ।


