बैशाख ०६ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली सेनाले खाली गरेको वनको जग्गामा व्यक्तिले कब्जा जमाएका छन । बोराडाँडी ब्यारेकको उत्तरतर्फको नेपाली सेनाले खाली गरेको शिवपुरी सामुदायिक वनको जग्गामा व्यक्तिले कब्जा जमाएका हुन ।
२०७५ सालसम्म नेपाली सेनाले तारवार लगाएर आफ्नो नियन्त्रणमा राखेको जग्गा तत्कालीन वडा अध्यक्ष दीपककुमार थापा क्षेत्री र नगरपालिकाको समन्वयमा नेपाली सेनाले खाली गरेको थियो । सेनाले सात वर्ष अगाडी छोडेको वनको जग्गा अहिले प्लटिङ गरेर बिक्री भएको छ । उक्त जग्गामा दुई–तीन तल्ले घर निर्माण भई सकेका छन भने कुनै घडेरी तीन–चार पटकसम्म बिक्री भइसेका टछन ।
तत्कालीन वडा अध्यक्ष थापाका अनुसार नेपाली सेनाबाट जग्गा खाली गराएर उक्त स्थानमा बसपार्क निर्माण गर्ने योजना नगरपालिकाले बनाएको थियो । बसपार्क निर्माण गर्ने भनेर सेनाले ओगटेको वनको जग्गा खाली गर्न पूर्व नगर प्रमुख नृपबहादुर वड डोजर लगेर सक्रिय भएका थिए । त्यस बेला सेनासँग सामान्य विवाद समेत भएको र पछि आपसी समन्वयमै सेनाले जग्गा खाली गरेको पूर्व अध्यक्ष थापाले बताए ।
’शिवपुरी सामुदायिक वनको जग्गा सेनाले उपभोग गरेको बताउदै उनले नगरपालिकाले त्यो जग्गा खाली गरेर बसपार्क बनाउने योजना अगाडी सारेको बताए । जग्गा खाली गर्ने भनेर पूर्व नगर प्रमुख नृपबहादुर वड डोजर लगेर गएको बताउदै उनले त्यतिबेला सेनासँग सामान्य विवाद पनि भएको बताए । पछि नेपाली सेनासँग समन्वय गरेर उक्त जग्गा फिर्ता भएको उनले बताए । सेनाले छोडेको वनको जग्गामा नयाँ बसपार्क बनाउने धनगढी उपमहानगर पालिकाको योजना कार्यान्वयन नभएको पूर्व वडा अध्यक्ष थापाले बताए ।
सेनाले छोडेकै जग्गामा उनकै पालामा वडा कार्यालय बनेको बताउदै उनले वडा कार्यालय भन्दा उत्तरतर्फको वनको जग्गा त्यसपछि अतिक्रमण भएको बताए । वडा कार्यालय भन्दा उत्तरतर्फको वनको जग्गा जनप्रतिनिधिकै मिलेमतोमा बिक्री वितरण भएको तथ्य फेला परेको छ ।
वडा नम्बर ४ मा वडाका जनप्रतिनिधिकै सिफारिसमा जङ्गलको जग्गा किनबेच भएको पाइएको हो । स्थानीय जग्गा माफियाले सिट नम्बर ०२७–०६८७–२ को कित्ता नम्बर ११५ को फिल्डबुकमा जङ्ग उल्लेख भएको वडा कार्यालय भवनको उत्तरपट्टिको एक बिघा २ कठ्ठा १२ धुर जग्गा बिक्री गरेका हुन् । उक्त जग्गा भूमाफियाले विभिन्न १९ जनालाई बिक्री गरेको पाइएको छ ।
केही व्यक्तिले उक्त जग्गामा पक्की घर नै बनाएर बसेका छन् भने केही घडेरीहरूको अहिले पनि बेचबिखन भइरहेको स्थानीयले बताएका छन । भूमाफियाले उक्त एक बिघा दुई कठ्ठा १२ धुर जग्गामा १९ वटा घडेरी निकालेर आधा कठ्ठाको २० लाखका दरले बिक्री गरेको स्थानीयले बताएका छन् । जग्गा किनबेचको कागज बनाउन वडा कार्यालयकै जनप्रतिनिध संलग्न रहेको बताइएको छ ।


