बैशाख ०६ कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई पक्राउ गरे सँगै बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन रानाको मृत्यु प्रकरण फेरि चर्चामा आएको छ । राना गत वैशाख ९ गते बेलौरी नगरपालिका १० कलकत्ता बजार नजिकै शिवनगरमा जलेको अवस्थामा मृत भेटिएका थिए । सडक छेउमा राना र उनी सवार मोटरसाइकल जलेको अवस्थामा भेटिएको थियो ।
यही घटनालाई लिएर उपाध्यक्ष नाथलाई प्रहरीले बिहीबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले ज्यान सम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । रानाकी श्रीमती फिरिया देवी रानाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई नियन्त्रणमा लिएर घट्नाबारे वर्षदिन पछी फेरि अनुसन्धान गरिरहेको हो । जाहेरीमा उपाध्यक्ष नाथले कृषि अनुदान र भैँसी पालनका लागि सरकारी बजेट मिलाइदिने प्रलोभन देखाएर ठुलो रकम लेनदेन गरेको दाबी गरिएको छ ।
जाहेरीमा उल्लेख भए अनुसार, अनुदान मिलाइ दिने बहानामा मृतक रानासँग पटक–पटक गरी करिब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको र सोही विषयमा विवाद हुँदा हत्या गरिएको आरोप लगाइएको छ । हरिकिसन राना मृत भेटिए पछि सुरुवात देखि नै परिवारले हत्या भएको दाबी गर्दै आइरहेका थिए । हत्याको शङ्का परिवारले शान्ति नाथमाथि नै गर्दै आइरहेका छन् । तर नाथले नै हत्या गरेको वा हत्यामा उनको संलग्नता छ भन्ने अहिलेसम्म पुष्टि हुने कुनै प्रमाण भने फेला पर्न सकेको छैन ।
पुरानो लेनदेन विवादलाई लिएर परिवारले नाथले नै हत्या गरेको दाबी गर्दै आइरहेका छन् । रानाको हत्यापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेको थियो । घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार परिवारले दाबी गरे अनुसार उपाध्यक्ष नाथले रानाको हत्या गरेको भन्ने गरी कुनै तथ्यगत प्रमाण भेटिएको छैन ।
अनुसन्धानमा खटिएका एक जना प्रहरी अधिकृतले ‘घटनापछि विभिन्न कोणबाट अनुसन्धान गरिसकेको बताउदै अनुसन्धान गरिएका तिन वटा फाइल इलाका प्रहरी कार्यालय बेलडाँडी मै रहेको बताए । उपाध्यक्ष नाथ सहित रानासँग कारोबार भएका व्यक्ती, भैँसी पालनसँग सम्बन्ध राख्ने सहित सय जना भन्दा बढी व्यक्तिहरूको बयान लिइएको बताइएको छ ।’
सबैको बयान लिइसके पछि कारोबार भएको विषय वा अन्य कारणले रानाको मृत्युमा उपाध्यक्ष नाथको संलग्नता छ भन्ने पुष्टि हुने तथ्यगत प्रमाण नभेटिएको प्रहरी अधिकृतको भनाई छ । कुनै प्रमाण नभेटेपछि उनलाई प्रतिवादी बनाएरै राख्ने, अनुसन्धान प्रक्रियामा जोडिहाल्ने अवस्था नरहेको प्रहरी अधिकृतको भनाइ छ । घटना हुँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट दुई वटा टोलीले घटनाबारे अनुसन्धान गरेको थियो । टेक्निकल टिम र जलेको मृत भेटिएको ठाउँमा आगलागी सम्बन्धी हेर्ने आर्सनिङ टोलीले समेत अनुसन्धान गरिएको थियो ।
‘घटनामा त्यति बेला केन्द्रीय, प्रदेश र जिल्लाको अनुभवी अनुसन्धान टोलीले डक्स मेचिङ, आर्सनिङ प्रक्रिया, बिटिएस प्रक्रिया, सिडिआर एलिलाइसेस लगायतका अनुसन्धान प्रक्रियामा आवश्यक विधि अपनाई तीन वटा फायल तयार पारि सकिएको ती प्रहरी अधिकृतले बताएका छन । थप अनुसन्धान प्रक्रियाका लागि सफ्ट फाइल र हार्ड कपि इलाका प्रहरी कार्यालय बेलडाँडी मै रहेको उनले बताए ।
प्रहरी अधिकृतका अनुसार अनुसन्धान गर्दा रानाको हत्या परिवारले शङ्का गरेको व्यक्ति वा अन्य कोही हो भन्ने तथ्यगत प्रमाण भेटि सकिएको छैन । एक वर्षपछि परिवारले शङ्का गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले पुरानै अनुसन्धान बाटै फेरि अनुसन्धान हुने बताए ।
‘परिवारको किटानी जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको बताउदै उनले अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको बताए । एसपी खत्रीले अनुसन्धान बेलडाँडी प्रहरीले गर्ने बताउदै घटनाबारे यस अघिको अनुसन्धान पनि हेरिने बताए ।

