बैशाख ०६ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, योजनको अभावमा ओझेलमा परेको छ ।
चराचुरुङ्गीको मधुर स्वरबाट बिहानको सुरुबात हुने,खुला मैदानमा निलगाई, चितल निस्फिक्री चरिरहेको देखिने र मयूरको नृत्यले वातावरण झन् रमाइलो हुने नागेश्वर मध्यवर्ती सामुदायिक वन, योजनको अभावमा ओझेलमा परेको हो । सामुदायिक वनका पूर्व अध्यक्ष जयबहादुर ऐरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायीक वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण भएको बताए ।
धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, पूर्वाधार र लगानीको अभावमा सामुदायीक बन ओझेलमा परेको उनले बताए । करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध भएको बताउदै उनले साल, सिसम, खयर, असना जस्ता बहुमूल्य वनस्पतिले ढाकिएको बताए । सामुदायीक बन चित्तल, निलगाई, मयूर, वनकुखुरा, बाँदर जस्ता वन्यजन्तुको सुरक्षित बासस्थान बनेको उनले बताए ।
सामुदायिक वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघ पनि देखापर्ने गरेको बताउदै उनले जसले वनको जैविक महत्वलाई अझ उच्च बनाएको बताए । वनको समथर भूभाग, हरियाली मैदान, नजिकै बग्ने स्याली नदी र सिमसार क्षेत्रले प्राकृतिक रूपले पर्यटकीय गन्तव्य बनाएको उनले बताए । शान्त वातावरण, चिसो हावा र हरियालीले सामुदायीक बन आन्तरिक पर्यटकका लागि उत्कृष्ट विश्रामस्थल बन्न सक्ने उनले बताए ।
योजनाबद्ध रूपमा विकास गर्न सकियो भने शुक्लाफाँटा क्षेत्रकै महत्त्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्ने बताउदै उनले प्रकृति, वन्यजन्तु र संस्कृति तीनै कुरा एउटै ठाउँमा भेटिने भएकाले यसको महत्व धेरै भएको बताए । आवश्यक पूर्वाधार विकास नहुँदा सामुदायीक बन ओझेलमा परेको उनले बताए ।
नागेश्वर वनको अर्को विशेषता त्याहाँ बसोबास गर्ने राना तथा चौधरी थारू समुदाय भएको बताउदै उनले थारू समुदायको मौलिक जीवनशैली, परम्परागत घर, विशिष्ट खानपान र सांस्कृतिक नृत्यले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका लागि पनि आकर्षक बनाएको उनले बताए ।
पर्यटकलाई स्थानीय जीवनशैलीसँग जोड्ने होमस्टे अवधारणा समेत सहजै लागू गर्न सकिने उनले बताए । स्थानीय धनबहादुर चौधरीले सुन्दर ठाउँ भएर पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको बताए । योजना अभावकै कारण वन क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुन नसकेको उनले बताए । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको वनमा सहज पहुँच भए पनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, भ्यूटावर जस्ता आधारभूत संरचना अभावमा पर्यटकलाई आकर्षित गर्न नसकिएको चौधरीले बताए ।
त्यसैगरी बन संरक्षणकर्मी कृष्णबहादुर ऐरले वन क्षेत्रमा पदमार्ग निर्माण,बर्ड वाचिङ टावर, सिमसार व्यवस्थापन, थारू सांस्कृतिक सङ्ग्रहालय र होमस्टे जस्ता पूर्वाधार विकास गर्न सके ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सकिने बताए । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले नागेश्वर वनलाई नजिकै रहेको हिरापुरको कृष्णसार संरक्षण क्षेत्र, तारा ताल र अन्य पर्यटकीय स्थलसँग जोडेर एकीकृत पर्यटन सर्किट निर्माण गर्न सकिने बताउदै पर्यटकलाई एकै ठाउँमा धेरै अनुभव बटुल्न सक्ने बाताबरण निर्माण गर्न सकिने बताए ।
यस्तो गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने, सामुदायिक वनको आम्दानी बढ्ने र स्थानीय उत्पादन तथा हस्तकलालाई बजार उपलब्ध गराउन सकिने उनले बताए । जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
नगरपालिकाको वडा नम्बरं ६ का अध्यक्ष दानबहादुर ऐरले नागेश्वर वनको प्राकृतिक सुन्दरता र सम्भावनालाई उजागर गर्दै यसलाई योजनाबद्ध रूपमा विकास गर्न सके शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय हुनसके सम्भावना वास्तविकतामा बदल्न सकिने उनले बताए ।
सामुदायिक वन उपभोक्ता समितिले पनि यस क्षेत्रलाई पर्यटकीय उद्यानका रूपमा विकास गर्न आवश्यक बजेट, प्राविधिक सहयोग र योजना स्वीकृतिका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्ने बताउदै उनले त्यसमा आफुले पनि सहयोग गर्ने बताए ।


