बैशाख ०२ धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको कार्ययोजना प्रदेश सरकार समक्ष पेश गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री शिवराज भट्टलाई कार्यदलका संयोजक तथा प्रदेश सभा सदस्य पदम बहादुर शाहीले उक्त कार्ययोजना पेश गरेका हुन् ।
प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा २०८२ भदौ ४ गते बसेको सर्वपक्षीय बैठकको निष्कर्ष र २०८२ मंसिर २ गतेको मुख्यमन्त्री स्तरीय निर्णय अनुसार शाहीको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदललाई बडिमालिका क्षेत्रको पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनका लागि अध्ययन, समीक्षा र कार्ययोजना तयार पार्ने जिम्मेवारी दिइएको थियो ।
कार्यदलले हालसम्म भएका पूर्वाधार विकासका प्रयासहरूको अध्ययन तथा मूल्याङ्कन गर्नुका साथै तत्काल र दीर्घकालीन योजनाहरू समेटेर कार्ययोजना तयार पारेको जनाएको छ ।
साथै, विभिन्न तहका सरोकारवालाको भूमिका र समन्वयका विषयमा समेत सुझाव प्रस्तुत गरिएको छ । कार्यदल गठनपछि २०८२ मंसिर ९ गते धनगढीमा बसेको पहिलो बैठकले विभिन्न निकायबाट बडिमालिका क्षेत्रसँग सम्बन्धित विगत तथा वर्तमान योजनाहरूको विस्तृत विवरण माग गर्ने निर्णय गरेको थियो ।
कार्यदलले तयार पारेको कार्ययोजनाले बडिमालिका क्षेत्रको समग्र विकास, धार्मिक पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


