असार ३१ कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ । सरकारले २०७५ सालमा घोषणा गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्य मध्येको बन्धातालमा पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको हो ।
सङ्घ सरकारको पाँच करोड ४३ लाख लागतमा पर्यटकीय पूर्वाधार निर्माणका लागि निर्माण कार्य सुरु गरिएको हो । ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य अनुरुप गत जेठमा ठेक्का सम्झौता भएर काम भइरहेको बेलौरी नगरपालिकाका इन्जिनियर जगदीश जोशीले बताए ।
बीचमा मन्दिर बनाउने र मन्दिरसम्म जानका लागि पुल निर्माण गर्ने अबधारणा भएको बताउदै उनले छेउछाउमा पनि ट्रस्ट पुल बनाउने योजना रहेको बताए । योजना अनुसार तालमा पूर्वाधार निर्माण गर्न २७ करोड लागत अनुमान गरिएको जानकारी ग राउदै उनले पहिलो चरणमा तालको चारैतिर पर्खाल निर्माण गरेर संरक्षण गरिने र पर्यटकको सहजताका लागि विभिन्न संरचना निर्माण गरिने बताए ।
सत्ताइस बिघा क्षेत्रफलमा फैलिएको तालको संरक्षण र पर्यटकीय विकासका लागि पालिकाले पनि नगर गौरवको योजनामा समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्न खोजेको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताए ।
“तालको विकासका लागि थप बजेटका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिरहेको बताउदै उनले नगरपालिकाको बजेटबाट पनि पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण भइरहेको जानकारी गराए । ताल परिसरमा पूर्वाधार निमार्णका लागि दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गरिरहेको उनले बताए ।
गत जेठ ९ गतेको ठेक्का सम्झौता अनुसार आगामी असार मसान्त भित्र काम सम्पन्न गरिसक्नु पर्ने उनले बताए । गोलो घेरामा फैलिएकाले तालको नाम बन्धाताल रहन गएको स्थानीइले बताएका छन । उक्त तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गीको समेत अवलोकन गर्न सकिने उनले बताए ।


