जेठ ०१ धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरेको खानेपानी र सिचाइको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार कैलालीको चुरे गाउँपालिका वडा नम्बर–३ सहजपुरमा स्थानीय जनतासँगको भेटघाटमा बुझाइएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । ज्ञापनपत्रमा उठाएका समस्याहरू मध्ये खानेपानी र सिँचाइको प्रमुख समस्याको समाधान गर्न सहयोग गर्ने उनले प्रतिबद्वता व्यक्त गरेका हुन ।
अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादी प्रतिको आकर्षण बढ्दै गएको बताउदै तराई–मधेसको अभियानले माओवादी प्रति जनतामा एउटा नयाँ उभार आएको बताए । अबका दिनहरू माओवादी र जनताका दिन हुने उनले बताए ।
नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्ने अभियान सुरुवात गर्न बैतडी जाने क्रममा अध्यक्ष प्रचण्डले चुरेको सहजपुरमा स्थानीयबासीसँग भेटघाट गरेका थिए । अध्यक्ष प्रचण्डलाई चुरे गाउँपालिका वडा नम्बर–५ खानीडाँडाका स्थानीयले स्वागत गरेका थिए ।


