फागुन १३ डडेल्धुरा । डडेल्धुराको अजयमेरु कोटको पुरातत्व विभागको टोलीले पहिलोपटक उत्खनन तथा अन्वेषण गरेको छ । अजयमेरु गाउँपालिका वडा नम्बर– २ मा रहेको अजयमेरु कोटको मुख्य दरबार क्षेत्र उत्खनन गरी अध्ययन अनुसन्धान गरिएको हो ।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीका अनुसार मुख्य दरबारसंगै अजयमेरु कोटका देवल, मण्डप, नाउलाहरूमा उत्खनन गर्दा आठ वटा अभिलेख कुदिएका ढुगां भेटिएका छन् ।
‘अहिलेसम्म गरिएको उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरु कोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको छ, । उत्खनन टोलीका संयोजक ज्ञवालीले ‘बीचमा गल्ली, एकातिर तीन र अर्कोतिर चार कोठा गरी भुइँ तलामा सात र माथि जाने ढुंगाको सिँढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुनसक्ने खुलेको बताए ।
’ मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावर लगायतका गरी १० वटा ढुंगे संरचना भएको भेटिएको ज्ञवालीले बताए । कोटमा राजा निरय पालको १२८५ र राजा नाग मल्लको १३०६ का अभिलेखहरू पाइएको उनले बताए ।
उत्खनन गर्दा कोट क्षेत्रमा कलाकृति र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरू भन्दा फरक भेटिएको पुरातत्व विभागको दाबी छ । उत्खननका लागि अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रकम विनियोजन गरे पछि पुरातत्व विभागको टोलीले अजयमेरु कोट क्षेत्रमा पुगेको थियो ।
टोलीले एक महिना सम्म उत्खनन गरेको छ भने बिहीबार फर्किने तयारीमा छ । उत्खनन पछि अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने अजयमेरु गाउँपालिकाले जनाएको छ ।


