माघ १८ कञ्चनपुर । प्रचार प्रसारको अभावमा कञ्चनपुरको सुनदेवी ताल ओझेलमा परेको छ । चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिच भागमा अवस्थित सौन्दर्यले भरिपूर्ण मनमोहक सुनदेवी ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ मा पर्ने सुनदेवी ताल सूर्यको किरणले पुरै ताल पहेँलो देखिने भएकाले सुनदेवी भन्ने गरिएको बताइएको छ । स्थानीय समाजसेवी दुर्गादत्त भट्टले वन क्षेत्रमा चिरबिर गर्ने विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित हुने बताए ।
चित्तल, बँदेल, बाँदर, दुम्सी र वन क्षेत्रमा उड्दै गरेका मयुर, लाटोकोसेरो, धनेस लगायतका चरा देखेर मन प्रफुल्लित हुने गरेको उनले सुनाए । वन क्षेत्रमा फुलेका विभिन्न प्रजातिका फूलको सौन्दर्य पनि हेर्नलायक भएको बताउदै उनले प्रचार प्रसारको अभावमा ताल ओझेलमा परेको बताए । ताल सम्म पुग्न सडक नभएको बताउदै उनले आन्तरिक पर्यटक तथा स्थानीय पैदल हिडेर तालमा पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।
पूर्वपश्चिम राजमार्गको वन समितिबाट आठ किलोमिटरको दूरीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारी साधनमा जान सकिने भए पनि त्यसपछिको पाँच किलोमिटरको दूरी पैदल हिड्नु पर्ने उनले बताए । सडक यातायात अभावसँगै प्रचार प्रसारको अभावमा थोरै मात्र आन्तरिक पर्यटक र स्थानीय तालसम्म पुग्ने गरेको उनले बताए ।
चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइ रहेको सुनदेवी तालमा रहेको पानी हावाको वहाबसँगै नीलो र पहेँलो रङको देखिने गरेको उनले बताए । तालको चारैतिर घना वन जंगल भएको बताउदै उनले तालमा रूखबाट खसेका पात पनि नदेखिने बताए । चारैतिर पहाडले घेरिएको ताललाई जतातिरबाट हेरे पनि चौडाइ र लम्बाइ ठम्याउन मुस्किल हुने गरेको उनले सुनाए ।
चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि उक्त तालमा नपाइने जानकारी गराउदै उनले तालको छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुल्ला भगवतीको थान रहेको बताए । थानमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले प्राचीनकाल देखि धार्मिक क्षेत्रका रूपमा रहेको पुष्टि भएको उनले बताए ।
ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निःसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको उनले सुनाए । नवरात्र, दसैँ, तिहार, माघे सङ्क्रान्तिमा पूजापाठ र भाकलका लागी भक्तजन पुग्ने गरेको उनले बताए । विवाह, व्रतबन्ध र ससाना नानीको कपाल मुण्डनका लागी भक्तजन आउने गरेको उनले बताए । ओझेलमा रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके विकासमा टेवा पुग्ने उनले बताए ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादु ऐरले रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि पहल गर्ने बताए । तराई क्षेत्रमा सवारी साधनको प्रयोग गरी पुग्न सकिने सडक र चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्न सकिने गरी कार्य गरिने उनले बताए ।
तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरूले काठ ओसार्नका लागि रेल स्टेशनका रूपमा प्रयोग गर्ने गरेको बताउदै उनले त्यो क्षेत्र एतिहासिक स्थानका रूपमा रहेको बताए ।
रेलको स्टेशन रहेको क्षेत्रलाई हाल स्टेशनपुर र अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डाबोझ नामले चिनिने गरेको उनले बताए । जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँ मुलुक फिर्ता दिए पछि रेलका फलामका डण्डी हटाइएको बूढापाकाले बताउने गरेका छन । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बिचमा राखिएका काठ देखिने गरेको उनले बताए ।


