पौष १६ काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजार भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आजसम्मको तथ्यांक अनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशत भन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए ।
कोरोना महामारी पछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्लुटिओ) को पछिल्लो छ महिनाको तथ्याङ्क अनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटन आगमनमा बढोत्तरी भएको हो ।


