साउन ३० बैतडी । ट्राफिक कार्यालय बैतडीले एक बर्षको अवधीमा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट २३ लाख ४३ हजार ५ सय राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनचालकबाट २३ लाख ४३ हजार ५ सय राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक बर्ष २०७९÷८० भन्दा गत अर्थिक बर्षमा २ लाख १० हजार बढी राजश्व संकलन भएको हो । गत आर्थिक बर्ष २०८०÷८१ मा ४ हजार ४ सय ५९ वडा यातायात साधनका चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब निरीक्षक धिरज पाठकले बताए ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकहरुबाट सवारी तथा यातायात ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही गरी जरीवना असुल गरिएको प्रहरी नायब निरीक्षक पाठकल जानकारी गराए । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालन गर्न सबै चालकहरुमा आग्रह गरिएको उनले बताए ।
ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट जरीवाना असुल गर्नुका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा थप जानकारी समेत दिने गरिएको पाठकले बताए । गत आर्थिक बर्षमा ३ सय ९४ वटा ट्रक, ५२ वटा बस तथा मिनि बस , २ हजार ६ सय ७८ वटा जिप,कार र भ्यान, ३ सय ८ वटा ट्याक्टर, ८ सय ३२ वटा मोटरसाइकल र १ सय ९५ ओटा टेम्पो तथा अन्य सवारी साधनका चालकलाई कारवाही गरिएको प्रहरी नायब निरीक्षक पाठकले जानकारी गराए ।
लाइसेन्स बिना सवारी साधन चलाउने,क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गरिएको उनले बताए । त्यसैगरी यातायात क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक प्रहरीलाई सहयोग गर्ने गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्नुपर्ने कुरामा चालकहरुलाई सम्झाउने गरेको महाकाली बहुउद्देश्यीय यातायात प्रालि बैतडीका अध्यक्ष त्रिलोक थापाले जानकारी गराए ।


